धनुषा ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अख्तियार) र केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीका नक्कली अधिकृत बनेर सर्वसाधारणलाई ठग्न प्रयास गर्ने एक युवकलाई धनुषाबाट प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्ने व्यक्ति धनुषा जिल्ला बट्टेश्वर गाउँपालिका–५, कालिपुर निवासी ३३ वर्षीय रामभजन मण्डल हुन्। उनी गोपाल मण्डलका छोरा रहेको प्रहरीले जनाएको छ।
रामभजन मण्डलले विगत केही महिनादेखि आफू अख्तियार, बर्दिबास–महोत्तरी र सीआईबी, काठमाडौँको अधिकृत कर्मचारी भएको झुटो परिचय दिँदै आएका थिए। उनले शहिदनगर नगरपालिका क्षेत्रका विभिन्न स्थानहरूमा सर्वसाधारण र सुरक्षाकर्मीहरूलाई मानसिक दबाब दिने, धाकधम्की देखाउने तथा त्यसबाट व्यक्तिगत लाभ उठाउने प्रयास गर्दै आएका थिए।
गुप्त सूचनाको आधारमा इलाका प्रहरी कार्यालय यदुकुहाबाट प्रहरी निरीक्षक ओमप्रकाश यादवको नेतृत्वमा खटिएको टोलीले उनलाई शहिदनगर नगरपालिका–३ स्थितबाट बैशाख ११ गते दिउँसो करिब १ बजे नियन्त्रणमा लिएको हो।
हाल मण्डललाई ७ दिनको म्याद थप गरी प्रहरी हिरासतमा राखिएको र थप अनुसन्धान भइरहेको धनुषा प्रहरीले जनाएको छ। साथै, उनको गतिविधिबाट प्रभावित हुन सक्ने अन्य व्यक्तिहरूको विवरण संकलन कार्यसमेत सुरु गरिएको छ।
प्रहरीले सर्वसाधारणलाई सतर्क रहन र यस्ता झुटा परिचयपत्र देखाएर ठगी गर्न खोज्ने व्यक्तिबाट सावधानी अपनाउन आग्रह गरेको छ।