काठमाडौँ ।
पहलगाम आक्रमणपछि युद्धकै अवस्थामा पुगेका भारत र पाकिस्तानबिच सोमवार वार्ता हुँदैछ । सुरुमा सोमवार मध्यान्ह १२ बजे तय भएको वार्ताको समय परिवर्तन भई साँझ हुने तय भएको हो। वार्तामा दुवै देशका सैन्य अपरेसन महानिर्देशक सहभागी हुनेछन्।
शनिवार भएको कुराकानीमा पाकिस्तानले शत्रुता अन्त्य गर्ने प्रस्ताव अघि सारेको थियो। त्यसपश्चात् सीमापार गोलीबारी तथा ड्रोन घुसपैठ नगर्ने सहमति भएको थियो। तर केही घण्टामै पाकिस्तानले नियन्त्रण रेखामा गोलीबारी तथा हवाई घुसपैठ गरेको भारतले आरोप लगाएको छ।
भारतीय सेनाका लेफ्टिनेन्ट जनरल राजीव घईले पाकिस्तानको उल्लङ्घनलाई कडा जवाफ दिइएको बताउँदै पुनः यस्ता गतिविधि भए अझ कडा कारबाही हुने चेतावनी दिएका छन्।
भारतले मे ७ देखि ‘अपरेसन सिन्दूर’ सञ्चालन गर्दै पाकिस्तान र पाकिस्तान–नियन्त्रित कश्मीरमा रहेका ९ आतंकवादी केन्द्रमा प्रहार गरेको थियो। आक्रमणमा २६ जनाको मृत्यु भएको थियो।