रौतहट।
दिवंगत रामा यादवको चौथो स्मृति दिवसको अवसरमा स्वास्थ्य पत्रकारितामा योगदान पुर्याएका दुई महिला पत्रकारलाई “रामा यादव स्मृति पत्रकारिता पुरस्कार” प्रदान गरिने भएको छ।
आइतबार रौतहटको गौरस्थित रेड टेलिभिजन सभाहलमा आयोजित विशेष कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष संजय कार्कीले २०८१/ २०८२ वर्षका लागि चयन गरिएका पत्रकारहरूको नाम सार्वजनिक गरेका हुन्।
२०७८ सालका लागि बाराको सिमराबाट सक्रिय रेडियो समर्पणकी प्रमुख तथा रातोपाटी अनलाइनकी संवाददाता शारदा पोखरेल र २०७९ सालका लागि महोत्तरीकी चाँदनी झालाई पुरस्कार दिइनेछ। दुबैलाई नगद २६,००१ रुपैयाँसहित सम्मान गरिने आयोजकले जनाएका छन्।
कार्यक्रममा प्रमुख अतिथि संजय कार्कीले रौतहटको पत्रकारिता क्षेत्रमा गुणस्तरीय सुधारको आवश्यकता औंल्याउँदै लेखन, प्रस्तुति र सम्प्रेषणमा ध्यान दिनुपर्ने बताए। अन्य वक्ताहरूले दिवंगत रामा यादवको योगदानको स्मरण गर्दै स्वास्थ्य तथा शिक्षाको क्षेत्रमा उनको बाटो पछ्याउनुपर्नेमा जोड दिए। पुरस्कार आगामी वर्ष स्मृति दिवसको वार्षिकोत्सवमा विशेष समारोहबीच प्रदान गरिनेछ।