काठमाडौँ।
भारत र पाकिस्तानबीच संघर्षविराम भएको ५१ घण्टापछि प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै भारतले शक्ति र संयम दुवै विश्वलाई देखाएको बताएका छन्।
प्रधानमन्त्री मोदीले अपरेशन सिन्दूरमा भारतीय सेनाको अद्वितीय साहसको प्रशंसा गर्दै आतंकवादविरुद्धको यो कदमलाई नयाँ अध्यायको रूपमा चित्रण गरे। उनले करिब सय जना आतङ्ककारी नष्ट गरिएको र पाकिस्तानस्थित बहावलपुर तथा मुरीदकेका आतङ्कवादी केन्द्रहरू ध्वस्त पारिएको दाबी गरे।
मोदीले सेनालाई पूर्ण स्वतन्त्रता दिएको जनाउँदै आतंककारी र तिनीहरूलाई संरक्षण दिने सरकारहरूलाई छुट्टै दृष्टिले हेर्ने स्पष्ट चेतावनी दिए। उनले मेड इन इन्डिया हतियारहरूको प्रयोगले युद्ध मैदानमा भारतको प्रभुत्व देखाएको र राष्ट्रको सुरक्षाका लागि सरकार सदैव निर्णायक कदम चालिरहने प्रतिबद्धता व्यक्त गरे।