पर्सा, कलैया, विवाह मण्डपमै सुनको सिक्री माग गर्दै झगडा गरेपछि विवाह भाँडेका उमेश साहसहित पाँचजनालाई पर्सा जिल्ला अदालतले दोषी ठहर गर्दै कैद, जरिवाना र दाइजो फिर्ता गर्ने सजाय सुनाएको छ।
२०७९ फागुन २८ गते वीरगञ्ज महानगरपालिका–२४, रामगढवास्थित रमिता कुमारी साहको विवाह समारोहमा बेहुला उमेश साह र उनका आफन्तहरूले मण्डपमै सुनको सिक्री माग्दै विवाद सिर्जना गरेका थिए। झगडाले उग्र रुप ल्याएपछि बेहुला पक्षले विवाह नै तोडेर मण्डपबाट फर्किएका थिए।
विवाह भाँडिएको भोलिपल्ट, २०७९ फागुन २९ गते, बेहुली पक्षले पर्सा जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गराएपछि “विवाह सम्बन्धी कसूर” अन्तर्गत मुद्दा अघि बढाइएको थियो।
२०८२ बैसाख ९ गते (मंगलबार), न्यायाधीश मोहन सुबेदीको एकल इजलासले कलैया उपमहानगरपालिका–४ निवासी २८ वर्षीय उमेश साह, उनका पिता बच्चालाल साह, दाजुहरू राकेश साह, मुकेश साह तथा भिनाजु रामएकबाल साहलाई ६–६ महिनाको कैद र जनही ५ हजार रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएको हो।
साथै, अदालतले उनीहरूले बेहुली पक्षबाट दाइजो स्वरूप लिएको ५ लाख ६५ हजार रुपैयाँ फिर्ता गर्न आदेश दिएको छ।
केही समयअघि धरौटीमा रिहा भएका दोषीहरू अब अदालतको यो आदेशअनुसार सजाय भोग्नु पर्नेछ।
यो घटना समाजमा दाइजो प्रथाले निम्त्याउने गम्भीर परिणामको प्रतिविम्ब हो, जसले अझै पनि महिलालाई दोहोरो अन्यायमा पारिरहेको छ। अदालतको यो फैसला दाइजो मागजस्ता कुरीतिविरुद्ध सशक्त सन्देश बनेको छ।