दैलेख– नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीको ध्यान सरकार ढलाउने तिर नभएको बताएका छन् । सरकार बनाउनेतर्फ पनि पार्टीले ध्यान नदिएको उनले बताए ।
जनतासँग माओवादी (मध्यपहाडी लोकमार्ग) जनता जागरण अभियानअन्तर्गत आज दैलेखमा आयोजित सभामा अध्यक्ष दाहालले सरकार गलत बाटोमा हिँडेको आरोप लगाउँदै आफ्नो पार्टीले सुरु गरेका कामलाई समेत भत्काएको उल्लेख गरे । यसबारे निरन्तर खबरदारी गरिरहेको उनको भनाइ थियो ।
‘बजेट अगाडि नै यो अभियान सकेर हामी यहाँका जनताका माग र आवश्यकता सरकार समक्ष राख्न चाहन्छौँ’, अध्यक्ष दाहालले भने, ‘तराई, मध्यपहाड र हिमाली क्षेत्रका बासिन्दाका माग सम्बोधन गर्न सरकारलाई आग्रह गर्दै आएको छु ।’ तराइ मधेस जागरण अभियान सफल भएको उल्लेख गर्दै उनले मध्यपहाडी लोक मार्ग यात्रा पनि सफल हुने बताए । अध्यक्ष दाहालले भने, ‘जनताले नै तीन पटक सरकारको नेतृत्व गर्ने ठाउँसम्म पुर्याएका र जनताका पीरमर्का बुुझेर तिनलाई सम्बोधनको प्रयास गरिने बताए ।
मधेश प्रदेश आन्दोलन समाधानदेखि संविधान कार्यान्वयनसम्म माओवादी केन्द्रको भूमिका ऐतिहासिक रहेको उल्लेख गर्दै अध्यक्ष दाहालले वर्तमान सत्तालाई जनमुखी बनाउन पहल गरिने बताए ।मध्यपहाडी लोकमार्गको प्रस्ताव आफू प्रधानमन्त्री हुँदा नै राखेको र यो मध्यपहाड तथा हिमालमा बस्ने जनताको हितलाई विचार गरेर प्रस्ताव गरिएको बताए ।
राष्ट्रिय एकतालाई सुदृढ गर्ने उद्देश्यद्वारा प्रेरित भएर, समृद्धिको नयाँ अभियान सुरुवात गर्न मध्यपहाड र हिमाली क्षेत्रमा भएको बसाइसराइको समस्या रोक्न सकिन्छ की भन्ने उद्देश्यले लोकमार्गको प्रस्ताव अघि बढाएको अध्यक्ष दाहालले बताए । माओवादी केन्द्रलाई कुनै राजनीतिक पार्टीले नभई जनताको मतले सत्तामा पुर्याएको उनले बताए ।