काठमाडौँ, १९ जेठ ।
रौतहटको गौरस्थित प्रादेशिक अस्पतालमा बिरामीलाई बासी र दुर्गन्धित खाना दिइएको गम्भीर आरोप लागेको छ। यमुनामाई गाउँपालिका–२ का वडाध्यक्ष सिताराम यादवले अस्पतालमा यस्तो खाना खुवाइएको भन्दै कडा आपत्ति जनाएपछि अस्पताल प्रशासनले तत्कालका लागि क्याबिन सेवा बन्द गरेको हो।
वडाध्यक्ष यादवले अस्पतालको खाद्य व्यवस्थापनमा चरम लापरबाही भएको बताउँदै भने, ‘सडेको खाना त कुकुरले पनि खान सक्दैन, सर्वसाधारण बिरामीको के हालत होला ?’ उनले घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कडा कारबाहीको माग गरेका छन्।
यसैबीच, अस्पताल प्रशासनले घटनालाई गम्भीर रूपमा लिएको जनाएको छ। प्रशासनका अनुसार, घटनाको छानबिन प्रक्रिया सुरु भइसकेको छ र शंकास्पद खानाको नमूना परीक्षणका लागि प्रयोगशालामा पठाइएको छ।
अस्पतालले छानबिनबाट दोषी पाइएमा कानुनबमोजिम कारबाही गरिने प्रतिबद्धता व्यक्त गरेको छ। यो घटनाले अस्पतालको खाद्य स्वच्छता र बिरामी सेवाको गुणस्तरमाथि प्रश्न उठाएको छ।