काठमाडौँ, २१ जेठ।
आज, जुन ४, विश्वभर निर्दोष बालबालिकामाथि हुने अत्याचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ।
संयुक्त राष्ट्रसङ्घको महासभाले सन् १९८२ अगस्ट १९ मा इजरायली आक्रमणबाट प्यालेस्टाइनी र लेबनानी बालबालिकाले भोगेको चरम हिंसा र पीडाप्रति गहिरो दुःख व्यक्त गर्दै हरेक वर्ष जुन ४ लाई यो दिवसका रूपमा मनाउने निर्णय गरेको थियो।
यस दिवसको मुख्य उद्देश्य विश्वभर शारीरिक, मानसिक तथा भावनात्मक रूपमा पीडित बालबालिकाहरूको अवस्थाप्रति ध्यानाकर्षण गराउनु, उनीहरूले भोग्नुपरेका पीडाहरूलाई सम्बोधन गर्नु र उनीहरूको अधिकारको संरक्षण सुनिश्चित गर्नु हो। संयुक्त राष्ट्रसङ्घले बाल अधिकारसम्बन्धी महासन्धिको मार्गदर्शनमा बालबालिकाको अधिकार रक्षाका लागि निरन्तर प्रतिबद्धता व्यक्त गर्दै आएको छ।
विडम्बना, आज पनि विश्वका विभिन्न भागमा लाखौं बालबालिकाहरू युद्ध, सशस्त्र द्वन्द्व, चरमपन्थी हिंसा, शोषण, दुर्व्यवहार र दण्डहीनताको शिकार भइरहेका छन्। उनीहरूको आधारभूत मानवअधिकार कुण्ठित भइरहेको छ र उनीहरूले सुरक्षित बाल्यकाल उपभोग गर्न पाएका छैनन्।
सन् २०१५ मा पारित भएको सन् २०३० सम्मको दिगो विकास लक्ष्य ९एसडीजी० ले पनि बालबालिकाको सुरक्षालाई प्राथमिकतामा राखेको छ। यसको लक्ष्य १६.२ ले बालबालिकाविरुद्ध हुने सबै प्रकारका हिंसा, शोषण, बेचबिखन, उपेक्षा र दुर्व्यवहार अन्त्य गर्न स्पष्ट मार्गनिर्देश गरेको छ। यो दिवसले त्यस्ता लक्ष्यहरू प्राप्तिका लागि विश्व समुदायलाई थप जिम्मेवार बन्न प्रेरित गर्दछ।