काठमाडौँ, जेठ २१।
लियो क्लब अफ पोखरा पिस चौतारीका साजन भण्डारी लियो मल्टिपल डिस्ट्रिक्ट ३२५ नेपाल अध्यक्षका रुपमा नेतृत्व गर्नेमा भएका छन्।लियो क्लब मल्टिपल डिष्ट्रिक्ट ३२५ को वार्षिक सम्मेलन यही २०८१ साल जेठ १७ गते काठमाडौँको बुढानीलकण्ठ नगरपालिकास्थित होटल अनुपर्स्थ एण्ड ब्यांक्वेटमा भव्यताका साथ सम्पन्न भएको छ। लियो डिष्ट्रिक्ट ३२५ 'के' का लियो साजन भण्डारीको कार्यक्रम संयोजनमा आयोजित उक्त सम्मेलनमा नेपालभरबाट करिब ११०० जना लियो सदस्यहरुको उत्साहजनक उपस्थिति रहेको थियो।
सम्मेलनको एक महत्वपूर्ण अंशको रुपमा लिइएको निर्वाचनमा मल्टिपल डिष्ट्रिक्टको आगामी नेतृत्वका लागि चार जनाले प्रतिस्पर्धा गरेका थिए। प्रतिस्पर्धीहरुमा कार्यक्रम संयोजक समेत रहनुभएका लियो साजन भण्डारी (डिष्ट्रिक्ट ३२५ 'के'), सञ्जीव शंकर मण्डल (डिष्ट्रिक्ट ३२५ 'सी'), लियो ललन महतो (डिष्ट्रिक्ट ३२५ 'आर') र लियो रिकेश कर्माचार्य रहनुभएको थियो।
कुल ४०० लियो सदस्यले मतदान गरेको उक्त निर्वाचनमा लियो साजन भण्डारीले सर्वाधिक १९५ मत प्राप्त गर्दै विजयी हुनुभएको हो। यस विजयसँगै उहाँले आगामी कार्यकालका लागि मल्टिपल डिष्ट्रिक्ट ३२५ मा महत्वपूर्ण जिम्मेवारी सम्हाल्नुहुनेछ। सम्मेलनले लियो सदस्यहरुमा नयाँ ऊर्जा थप्नुका साथै भावी कार्यक्रम तथा योजनाहरुबारे समेत छलफल गरेको थियो।