काठमाडौँ, जेठ २२।
आज जुन ५ अर्थात् विश्व वातावरण दिवस,नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ। यस वर्षको दिवस ‘प्लाष्टिक प्रदूषण न्यूनीकरणः हाम्रो दायित्व’ भन्ने नाराका साथ विश्वभर मनाइँदैछ।
संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् १९७३ देखि हरेक वर्ष जुन ५ तारिखलाई विश्व वातावरण दिवसका रूपमा मनाउन थालिएको हो। वातावरण संरक्षणप्रतिको विश्वव्यापी राजनीतिक र सामाजिक जागरणलाई अभिवृद्धि गर्ने उद्देश्यले यो दिवस मनाउने गरिन्छ।
राष्ट्रसङ्घका अनुसार, विश्वभर हरेक वर्ष करिब ४० करोड टन प्लास्टिकजन्य फोहोर उत्पादन हुने गरेको छ। यसमध्ये केवल १० प्रतिशत मात्र पुनः प्रयोगमा आउने र करिब एक करोड १० लाख टन प्लास्टिकजन्य फोहोर नदी, ताल र महासागरमा मिसिने गरेको तथ्याङ्क छ। यसले जलचर तथा समग्र पारिस्थितिकीय प्रणालीमा गम्भीर असर पारिरहेको छ।
नेपालको सन्दर्भमा, संविधान २०७२ को धारा ३० ले प्रत्येक नागरिकलाई स्वच्छ वातावरणको मौलिक हक सुनिश्चित गरेको छ। साथै, वातावरणीय प्रदूषण वा ह्रासबाट पीडित पक्षलाई कानुनबमोजिम क्षतिपूर्ति पाउने व्यवस्था पनि गरेको छ। दिवसका अवसरमा नेपालमा सरकारी तथा गैरसरकारी सङ्घसंस्थाले जनचेतनामूलक र्याली, वृक्षारोपण, सरसफाइ तथा अन्तर्क्रिया कार्यक्रमहरू आयोजना गर्दैछन्।