काठमाडौँ, जेठ २४ ।
आज वैदिक सनातन धर्मावलम्बीले आ–आफ्नो घरको मठमा श्रद्धाभक्तिपूर्वक तुलसीको दल (बिउ) राख्दै छन् । यसै दिनबाट पवित्र चतुर्मास अवधिको सुरुवात हुने भएकाले यसको विशेष धार्मिक महत्त्व रहेको छ।
प्रत्येक वर्ष यस एकादशीमा रोपिएको तुलसीको दललाई एक महिनापछि अर्थात् आषाढ शुक्ल एकादशीका दिन मठ वा गमलामा सारिन्छ। आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्मको चार महिनाको अवधिलाई ‘चतुर्मास’ भनिन्छ, जसमा स्नान, पूजन र दान गर्नाले मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ। यो अवधिमा तुलसीको विशेष पूजा(आराधना गरी हुर्काइन्छ र अन्त्यमा दामोदर (भगवान् विष्णु) सँग विवाह गरिदिने परम्परा छ।
यस एकादशीलाई ‘निर्जला’ पनि भनिने भएकाले आज पानीसमेत नपिई कठोर व्रत बस्ने चलन छ। धर्मशास्त्रविद् एवम् नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा।डा। देवमणि भट्टराईका अनुसार, यस दिन निराहार व्रत बस्नाले अभीष्ट फल प्राप्त हुने शास्त्रीय मान्यता छ। यद्यपि, स्वास्थ्य अवस्थाका कारण कठोर व्रत बस्न नसक्नेहरूले फलफूल ग्रहण गर्न सक्ने उहाँले बताउनुभयो।
धार्मिक दृष्टिकोणले मात्र नभई तुलसीलाई आयुर्वेदिक औषधिका रूपमा पनि अत्यन्त महत्त्वपूर्ण मानिन्छ। विभिन्न रोगको उपचारमा प्रयोग हुने तुलसीमा अक्सिजनको मात्रा प्रचुर हुने कुरा आधुनिक विज्ञानले समेत प्रमाणित गरेको छ।