काठमाडौँ, जेठ २४ ।
जबरजस्ती करणी गरेको अभियोगमा प्युठान र धादिङका विभिन्न स्थानबाट दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा एक ७८ वर्षीय वृद्ध र अर्का ५४ वर्षीय पुरुष रहेका छन्।
प्रहरीका अनुसार प्युठानको नौबहिनी गाउँपालिका-४, मौरीवाङ खबाङ बस्ने ७८ वर्षीय महाराम पुनलाई प्रहरीले शुक्रबार बिहान पक्राउ गरेको हो। पुनमाथि ३४ वर्षीया एक महिलालाई जबरजस्ती करणी गरेको आरोप छ। पीडितले दिएको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय, लुङबहानेबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।
यस्तै, धादिङको सिद्धालेक गाउँपालिका-१, बिर्जेथुम्का बस्ने ५४ वर्षीय एक बहादुर चितौरे पनि पक्राउ परेका छन्। उनले १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा प्रहरी चौकी, सिद्धलेकबाट खटिएको प्रहरीले उनलाई शुक्रबार दिउँसो पक्राउ गरेको हो।
पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।