काठमाडौँ,जेठ २७ ।
वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने प्रलोभन देखाएर करोडौं रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। उनीहरूले ३८ जनाबाट ११ करोडभन्दा बढी रकम ठगी गरेको प्रहरीले जनाएको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले मोरङको रतुवामाई नगरपालिका-१० का ४४ वर्षीय लक्ष्मण पराजुली र धनुषाको सबैला नगरपालिका-१२ का ४७ वर्षीय अरुणराज शर्मालाई पक्राउ गरेको हो। उनीहरूलाई काठमाडौँ महानगरपालिका-३२, नरेफाँटबाट पक्राउ गरिएको हो।
कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) काजीकुमार आचार्यका अनुसार, पक्राउ परेकाहरूविरुद्ध हालसम्म ३८ जना पीडितले ११ करोड ६ लाख ९७ हजार रुपैयाँ ठगी भएको भन्दै उजुरी दिएका छन्।
"एकै जनाबाट ५० लाख रुपैयाँसम्म उठाएको पाइएको छ, रकम उठाएपछि दुवै जना फरार रहेका थिए," एसपी आचार्यले भने।
पक्राउ परेकामध्ये पराजुली काठमाडौं-१६, सरस्वतीनगरमा र शर्मा काठमाडौं-३२, नरेफाँटमा बस्दै आएका थिए। प्रहरीले यसअघि नै यसै प्रकरणमा संलग्न पराजुलीकी श्रीमतीलाई पक्राउ गरिसकेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।