काठमाडौँ,जेठ २७ ।
उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मौद्रिक नीति र वित्त नीतिबीच सही सन्तुलन कायम गरेर मात्रै देशको अर्थतन्त्रलाई अगाडि बढाउन सकिने बताएका छन्। मंगलबार राजधानीमा आयोजित ‘प्रि-मनिटरी पोलिसी डिस्कसन’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन्।
अर्थमन्त्री पौडेलले अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकले एकअर्कासँग समन्वय र सन्तुलन कायम गरेर अघि बढ्नुपर्नेमा जोड दिए। उनले पछिल्लो समय मौद्रिक सुशासनको विषयमा विभिन्न प्रश्नहरू उठ्ने गरेको स्वीकार्दै भने, "सुशासनका प्रश्नमा हामी कहिँ न कहिँ चुक्दै आएका छौँ, त्यसैले राष्ट्र बैंक तथा अर्थ मन्त्रालय र मौद्रिक नीति तथा वित्त नीतिबीच सन्तुलन अनिवार्य छ।"
मुलुकको आर्थिक अवस्थालाई लिएर भइरहेका टिप्पणीहरूतर्फ संकेत गर्दै उनले भने, "मुलुकको अर्थतन्त्र समस्यामा छ, दबाबमा छ, अप्ठ्यारोमा छ भन्ने टिप्पणीहरू भइरहेका छन्। यस्तो अवस्थामा गभर्नर र अर्थमन्त्री वा दुई निकायबीचको सम्बन्धमा उठ्ने प्रश्नलाई सन्तुलन गरेरै अघि बढ्छौँ।"
सोही कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंकका निवर्तमान गभर्नर महाप्रसाद अधिकारीले पनि वित्त नीति र मौद्रिक नीतिबीचको समन्वयमा बारम्बार प्रश्न उठ्ने गरेको बताए। उनले यी दुई नीतिबीच सामञ्जस्यता र स्पष्टता आवश्यक रहेको औंल्याए।
"वित्त नीति र मौद्रिक नीतिबीच बारम्बार प्रश्न उठ्ने गरेको छ। यी दुई नीतिबीच कहाँ समन्वय भएन भनेर स्पष्ट गर्नुपर्ने आवश्यकता छ," अधिकारीले भने, "वास्तवमा अर्थ मन्त्रालयको नीतिलाई राष्ट्र बैंकले कार्यान्वयन गर्यो भनेर मिडियाले लेख्नुपर्ने हो।"