काठमाडौँ।
लायन्स मल्टिपल डिष्ट्रिक्ट ३२५ को वार्षिक अधिवेशनको अवसरमा लायन्स क्लव अफ काठमाडौं शुभ आरम्भ ले उत्कृष्ट सामाजिक सेवाका लागि सर्वाधिक सेवा गर्ने पहिलो क्लवको अवार्ड प्राप्त गरेको छ।
राजधानीको कमलादीस्थित प्रज्ञा भवनमा आयोजित विशेष कार्यक्रममा क्लव अध्यक्ष रामशरण न्यौपाने ९सुशान्त० लाई इन्टरनेशनल डाइरेक्टर बालकृष्ण बुर्लाकोटी ले सम्मानित गरे।
मल्टिपल डिष्ट्रिक्टले १५ वटा डिष्ट्रिक्टका उत्कृष्ट क्लवहरूलाई ७–७ विधामा अवार्ड वितरण गरेको हो। यस अन्तर्गत एल डिष्ट्रिक्टबाट ७ वटा क्लवहरू सम्मानित भएका छन् भने शुभ आरम्भले पहिलोपटक मल्टिपल स्तरीय उत्कृष्ट सेवा अवार्ड प्राप्त गर्न सफल भएको हो।
यसै अवसरमा लायन्स क्लव अफ काठमाडौं शुभ आरम्भ ले तारकेश्वर–५ स्थित पृथ्वीनारायण माध्यमिक विद्यालयका दृष्टिविहिन तथा आर्थिक अवस्था कमजोर एक जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने सम्झौता गरेको छ।
छात्रवृत्तिको यो पहल गोमा सुनुवारले आफ्नो जन्मदिनको अवसरमा घोषणा गरेकी हुन्। उक्त छात्रवृत्तिले कक्षा २ देखि १० सम्म अध्यापन गर्दा लाग्ने स्टेशनरी, पोशाक लगायतको वार्षिक खर्च विद्यार्थीको बैंक खातामा जम्मा गरिनेछ।
सम्झौतामा क्लवका संस्थापक अध्यक्ष भाष्कर श्रेष्ठ, अध्यक्ष रामशरण न्यौपाने, स्पोन्सर गोमा सुनुवार, विद्यार्थी सन्जिता माझी, र विद्यालयका प्रधानाध्यापक नारायण प्रसाद शर्मा ले हस्ताक्षर गरेका छन्।
यसअघि पनि शुभ आरम्भले नुवाकोट, सिन्धुपाल्चोक, मकवानपुर लगायतका सामुदायिक विद्यालयमा पोशाक, झोला, स्टेशनरी वितरण गर्दै आएको छ। निकट भविष्यमा सिन्धुपाल्चोकमा सामुदायिक विद्यालयमा आपतकालीन कक्ष निर्माण गर्ने तयारी समेत गरिएको छ।
कार्यक्रममा विद्यालयका शिक्षकहरू, लायन्सका जोन चियरपर्सन सुरेन्द्र सांघाई, क्लव सचिव सुरज कार्की लगायतको उपस्थिति रहेको थियो। सञ्चालन संस्थापक अध्यक्ष भाष्कर श्रेष्ठ ले गरेका थिए भने सभापतित्व अध्यक्ष रामशरण न्यौपानेले गरेका थिए।