हिजो माओवादी गाउँ पसे — बन्दुक बोकेर, सपनाहरू बोकेर। परिवर्तनको नारा घन्कियो, जनयुद्धको लहर चल्यो। गाउँका खेत–बारी बाँझिए, युवाहरू लडाईंमा लागे, अनेक सपना देखाइए — समानताको, समृद्धिको, स्वतन्त्रताको।
तर त्यो 'क्रान्ति'ले के दियो? गाउँ रित्तिए, घरका आँगनमा थकित आमाहरू र रूने बालबालिका मात्रै बाँकी रहे। टुटेका परिवार, उठेका शव, हराएका सपना,र आज? माओवादी सहरमा छन् — सत्ता भित्र छन्, सरकारको नेतृत्वमा छन्, निर्णय लिने कुर्सीमा छन्। तर आश्चर्य के छ भने, अहिले गाउँ मात्र होइन, सिङ्गो देश नै रित्तिँदै छ।
युवाहरू झोला बोकेर कतार, दुबई, मलेसिया र कोरियातिर लागेका छन्। कोही सडकमै शव बनेर फर्किन्छन्, कोही त कहिल्यै नफर्किने गरी हराउँछन्।शिक्षित युवाहरू विदेशको डिग्रीसहित त्यहीँको जागिरमा रमाइरहेका छन्, किनकि देशमा उनीहरूलाई बस्न योग्य अवसर छैन।
किन रित्तिँदै छ देश?
त्यो जनयुद्ध, त्यो आन्दोलन, त्यो बलिदान – के केवल सत्ताको लागि मात्र थियो?
के गाउँका त्याग र बलिदानको मूल्य यति सस्तो थियो?
जब नेताहरू आन्दोलनको कुरा गर्छन्, जनताको रगत सम्झिँदैनन्, केवल कुर्सी सम्झिन्छन्।
आज आन्दोलनकारीहरूकै हातमा शक्ति छ, तर जनताको हात अझै खाली छ।
गाउँका झुपडी बदलिएका छैनन्, सडक उस्तै छ, अस्पताल छैन, स्कुल छैन — छ त केवल वाचा र नाराको कथा