महोत्तरी ।
नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयको आयोजनामा सञ्चालित पाँच दिने रक्षा संवाददाता अभिमुखिकरण कार्यक्रम सोमबारबाट वर्दिवासस्थित श्री मध्यपूर्वी पृतना हेडक्वार्टरमा सुरु भएको छ ।
नेपाली सेनाद्वारा सञ्चालन गरिएका विविध कार्यहरूलाई जनमानसमा पुर्याउने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रमको उद्घाटन पृतनापति कृष्णबहादुर जिसीले स्वागत मन्तव्यसहित शुभारम्भ गरेका थिए ।
कार्यक्रमको पहिलो दिन रक्षा मन्त्रालयका उपसचिव अनुप केसीले सहभागीहरूलाई रक्षा मन्त्रालयको संरचना, कार्यप्रणाली र राष्ट्रिय सुरक्षा नीतिसम्बन्धी विस्तृत जानकारी दिए । साथै प्रमुख सेनानी बालकृष्ण कार्कीले नेपाली सेनाको संगठनात्मक संरचना, पृतनाको जिम्मेवारी क्षेत्र, र त्यस क्षेत्रमा भएका उल्लेखनीय कार्यहरूबारे प्रस्तुत गर्दै जनसम्पर्क तथा सूचना निर्देशनालयको भूमिका र अभिमुखिकरण कार्यक्रमको महत्व स्पष्ट पारे ।
त्यसैगरी नेपाल पत्रकार महासंघ मधेस प्रदेशका अध्यक्ष श्याम बञ्जाराले सञ्चारकर्मीहरूलाई पत्रकारितामा लाग्ने आचारसंहिता तथा व्यावसायिक मर्यादाबारे प्रशिक्षण दिएका थिए । कार्यक्रममा सञ्चार क्षेत्रसँग सम्बन्धित अनुभव साटासाट पनि गरिएको थियो ।
बिहान ८:१५ बजेबाट सुरु भई बेलुका ४ बजेसम्म सञ्चालन हुने कार्यक्रममा नेपाली सेनाका क्याप्टेन सबिन कार्कीले सहजीकरणको भूमिका निर्वाह गरिरहेका छन् ।
अभिमुखिकरण कार्यक्रममा मधेश प्रदेशका आठ जिल्लासहित दोलखा, रामेछाप र सिन्धुली जिल्लाबाट आएका गरी कुल २७ जना सञ्चारकर्मी सहभागी भएका छन् । पाँच दिनसम्म सञ्चालन हुने उक्त कार्यक्रममा सुरक्षासम्बन्धी विभिन्न विषयमा छलफल, प्रस्तुति तथा क्षेत्रीय भ्रमणसमेत समावेश गरिने जनाइएको छ ।