नेपाल राष्ट्र बैंकको गभर्नरमा नियुक्त भएपछि प्रा डा. विश्वनाथ पौडेलले मुलुकको वित्तीय प्रणालीलाई स्थायित्व दिने दिशामा गम्भीरता पूर्वक काम गर्ने प्रतिबद्धता जनाएका छन् । उनी नियामक निकायको प्रमुखको हैसियतमा बैंक तथा वित्तीय संस्थाको निगरानी र सुपरिवेक्षणमा विशेष जोड दिने तयारीमा छन् । यिनै सन्दर्भमा सजिलो पत्रिकाले गभर्नर पौडेलसँग गरेको संवादको सम्पादित अंश :
गभर्नर नियुक्तिसँगै तपाईंको विगतको राजनीतिक पृष्ठभूमि पनि चर्चामा आयो । यो भूमिकामा राजनीतिक विचारले असर पार्छ त ?
सामान्यतया सबैसँग कुनै न कुनै विचारधारा हुन्छ । मैले चुनाव लडेको हुँ भनेर मेरो योग्यता मेटिँदैन । निर्वाचनमा भाग लिएकोले कुनै गल्ती गरेको ठान्दिनँ । अहिले मैले जुन जिम्मेवारी पाएको छु, त्यो पूर्णतः पेशागत हो र म यसलाई पूर्ण निष्ठाका साथ निर्वाह गर्छु । पाँच वर्षे कार्यकालमा म संवाद र पारदर्शितामा आधारित नेतृत्व प्रस्तुत गर्नेछु ।
विगतमा सत्तारूढ पक्षभित्रै राष्ट्र बैंकको नेतृत्वमा चर्को मतभेद देखिएको थियो । यस्तो अवस्थामा तपाईंको प्राथमिक योजना के हो ?
राष्ट्र बैंकको सुपरिवेक्षण क्षमता बढाउने मेरो पहिलो प्राथमिकता हो । सुपरिवेक्षण प्रभावकारी हुनु आवश्यक छ । बैंक तथा वित्तीय संस्थामा देखिएका कमजोरीको सूक्ष्म विश्लेषण गरेर समस्या समाधान गर्न म केन्द्रित हुनेछु । नागरिकको बचत सुरक्षित राख्नु हाम्रो दायित्व हो ।
राष्ट्र बैंकले सरकारसँग पनि समन्वय गर्नुपर्ने हुन्छ । तपाईंले यो समन्वयलाई कसरी हेर्नुभएको छ ?
सरकार नीति निर्माणमा अग्रसर हुन्छ भने राष्ट्र बैंकले ती नीतिलाई कार्यान्वयन गर्न मार्गदर्शन गर्छ । हाम्रो भूमिका स्पष्ट छ– सहकार्य र समन्वय । नीति निर्देशन बारम्बार संशोधन नहोस् भनेर सरकार र वित्तीय क्षेत्रसँग निरन्तर संवाद गरिनेछ ।
के तपाईं गभर्नर पदमा प्रतिस्पर्धामार्फत आउनुभएको हो ?
गभर्नर चयन प्रक्रियामा कुनै खुला प्रतिस्पर्धा थिएन भन्ने मलाई थाहा छ । सरकारले उपयुक्त ठानेर जिम्मेवारी दिएको हो । यसैले म कसैसँग प्रतिस्पर्धामा थिएँ भन्ने लाग्दैन । अब म सबैको प्रतिनिधि हुँ, सबैलाई समेटेर अघि बढ्छु ।
अहिलेको आर्थिक अवस्था जटिल छ । तपाईं यसलाई कसरी हेर्नुहुन्छ ?
अर्थतन्त्रको अवस्था चुनौतीपूर्ण त छ, तर अजेय छैन । योजना आयोगमा रहेर र शिक्षण कार्यमार्फत मैले नीति–निर्माणको अन्तरदृष्टि बटुलेको छु । आत्मविश्वासका साथ भन्न सक्छु– समस्या छ तर समाधान सम्भव छ ।
अर्थनीतिक पक्षमा तपाईंको विचार के छ रु मौद्रिक नीति कसरी प्रभावकारी बनाउने योजना छ ?
म मौद्रिक नीतिलाई सन्तुलित रूपमा लिने पक्षमा छु । यो नीति वित्तीय नीतिका लक्ष्यहरूमा सहायक हुनुपर्छ । नीति निर्देशन हतारमा वा दबाबमा नबनाइन्छ । पर्याप्त विश्लेषण, संवाद र अध्ययन पछि मात्र निर्णय गरिन्छ । ब्याजदर जस्ता संवेदनशील विषयमा सचेतता आवश्यक छ ।
राष्ट्र बैंक र अर्थ मन्त्रालयबीच विगतमा देखिएको समन्वयहीनतालाई तपाईं कसरी समाधान गर्नुहुन्छ ?
यो द्वन्द्व इगो को कारण भएको देखिन्छ । दुई निकायबीच सशक्त समन्वय आवश्यक छ । राष्ट्र बैंकले आफ्नो नियामकीय भूमिकामा रहेर सरकारको नीति सफल बनाउन सहकार्य गर्नेछ । सन्तुलन, संवाद र साझा दृष्टिकोण नै समाधान हो ।
तपाईंको अध्ययन क्षेत्रसँग राष्ट्र बैंकको भूमिका के मिल्दोजुल्दो छ ?
योजना आयोगमा रहँदा मैले अनुगमन, मूल्याङ्कन, तथा नियामक प्रवृत्तिहरू बुझ्ने अवसर पाएको थिएँ । मैले वित्तीय विषयमा अनुसन्धान पनि गरेको छु । त्यसैले राष्ट्र बैंकको नेतृत्व मेरो लागि नयाँ विषय होइन ।
गभर्नरको रूपमा तपाईका शीर्ष प्राथमिकताहरू के–के हुन् ?
सबैभन्दा पहिले नेपाललाई एफएटीएफको ‘ग्रे लिस्ट’बाट बाहिर निकाल्नु जरुरी छ । त्यसपछि सुपरिवेक्षणमा ध्यान केन्द्रित गर्नेछु । ऋणको गुणस्तरमा आएको गिरावट गम्भीर मुद्दा हो । त्यसको अध्ययन र सुधार प्राथमिक कार्यसूचीमा पर्नेछ ।
बैंकहरूमा कर्जा विस्तारमा अवरोध देखिएको छ । प्रणालीमा तरलता धेरै छ तर लगानी बढ्दैन । समाधान के हो ?
म सम्पत्ति व्यवस्थापन कम्पनीको स्थापना आवश्यक ठान्छु । यो अवधारणा मैले २०६५ सालदेखि उठाउँदै आएको छु । अहिलेको नीति तथा कार्यक्रममा पनि त्यसको चर्चा भएको छ । सरकार नेतृत्वमा आएर यसलाई कार्यान्वयनमा ल्याउनुपर्छ ।
नीति स्थिरता र विश्वसनीयता अझै प्रश्नमा छ । तपाईं कस्तो नीति ल्याउनुहुन्छ ?
नीति स्थिरता सुनिश्चित गर्न म हतारको निर्णय लिंदिनँ । ब्याजदरमा अत्यधिक उतारचढावबाट जनतालाई जोगाउन ध्यान दिन्छु । सबै निर्णय सरोकारवालासँग पर्याप्त छलफलपछि मात्र लिइन्छ ।
सहकारी क्षेत्रको नियमनबारे के सोचिरहनुभएको छ ?
सहकारीहरू पनि वित्तीय प्रणालीको महत्त्वपूर्ण हिस्सा हुन् । तर, सबै हेर्छु भनेर सम्भव हुँदैन । त्यसका लागि राष्ट्र बैंकको क्षमता बढाउनुपर्छ । आवश्यकताअनुसार सम्बन्धित निकायहरूसँग समन्वय गरेर मात्र अगाडि बढ्न सकिन्छ ।
अन्तिम प्रश्न– तपाईंको गभर्नरको भूमिकामा दीर्घकालीन दृष्टिकोण के हो ?
मूलतः वित्तीय प्रणालीलाई स्थायित्व, पारदर्शिता र सुदृढ नियमनमार्फत अघि बढाउनु हो । सहकार्य, अनुसन्धान र संवादबाट नीति निर्माण गर्नेछु । राष्ट्र बैंकको प्रमुख लक्ष्य जनताको विश्वास कायम गर्नु हो र त्यो विश्वास कायम राख्न म प्रतिबद्ध छु ।