काठमाडौँ, जेठ २३ ।
उज्बेकिस्तान र जोर्डनले पहिलो पटक फिफा विश्वकप फुटबलमा स्थान बनाउँदै ऐतिहासिक उपलब्धि हासिल गरेका छन्। बिहीबार राति भएका एसियाली छनोटका खेलहरूपछि उनीहरूको विश्वकप यात्रा निश्चित भएको हो। एसियाली फुटबलको पावरहाउस दक्षिण कोरियाले पनि विश्वकपमा आफ्नो टिकट पक्का गरेको छ।
इराकको बसोरामा भएको खेलमा दक्षिण कोरियाले आयोजक टोलीलाई २–० गोल अन्तरले पराजित गरेपछि समूह ‘बी’ बाट जोर्डनको छनोटसमेत पक्का भएको हो। दक्षिण कोरियाको जितमा किम जिन–ग्यु र ओह ह्वन–ग्युले एक–एक गोल गरे।
यस्तै, अर्को खेलमा उज्वेकिस्तानले संयुक्त अरब इमिरेट्स (यूएई)सँग गोलरहित बराबरी खेल्दै विश्वकपमा आफ्नो स्थान सुरक्षित गर्यो।
यो नतिजासँगै एसियाली छनोटको तेस्रो चरण अन्तर्गत समूह ‘ए’ बाट इरान र उज्वेकिस्तान शीर्ष दुईमा रहँदै विश्वकपका लागि छनोट भएका छन्। इरान यसअघि नै छनोट भइसकेको थियो। त्यसैगरी समूह ‘बी’ बाट दक्षिण कोरिया र जोर्डनले शीर्ष दुईमा रहँदै विश्वकपमा आफ्नो स्थान पक्का गरेका हुन्।