काठमाडौँ,जेठ २७ ।
कञ्चनपुर जिल्लाकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको आज २५०० दिन पूरा भएको छ। तर, ६ वर्ष १० महिनाभन्दा बढीको यो लामो अवधिमा पनि राज्यले अपराधी पत्ता लगाउन सकेको छैन, जसले गर्दा यो घटना नेपालको न्याय प्रणालीमा एक रहस्यमय र दर्दनाक अध्याय बनेको छ।
२०७५ साल साउन १० गते साथीको घर गएकी निर्मलाको शव भोलिपल्ट उखुबारीमा भेटिएको थियो। त्यसयता प्रहरीले अनुसन्धान जारी रहेको दाबी गरे पनि परिणाम शून्य छ। पीडित परिवारको घरमा अनुसन्धान टोलीले पाइला नटेकेको पनि दुई वर्ष बितिसकेको छ, जसले उनीहरूको न्याय पाउने आशालाई निराशामा बदलिदिएको छ।
"अपराधी पत्ता लाग्छ र न्याय पाइन्छ भन्ने आशा नै मरिसक्यो," निर्मलाकी आमा दुर्गादेवीले नेपाल न्यूज बैंकसँगको कुराकानीमा भनिन्, "नहुनु घटना भयो, मनमा शान्ति छैन। अनुसन्धान टोलीलाई छिटो अपराधी पत्ता लगाइदिनुहोला।"
यो घटनापछि दोषीलाई कारबाहीको माग गर्दै देश-विदेशमा महिनौंसम्म आन्दोलन भयो। सडकदेखि सदनसम्म आवाज उठ्यो, तर प्रहरीको अनुसन्धानले वास्तविक अपराधीसम्म पुग्न सकेन। अनुसन्धानको क्रममा प्रहरीले १२० भन्दा बढी व्यक्तिमाथि सोधपुछ र १२४ जनाको डीएनए परीक्षण गरे पनि कसैको पनि डीएनए मेल खाएन।
राजनीतिक प्रतिबद्धता खोक्रो, गृहमन्त्रीकै क्षेत्रको घटना ओझेलमा
विडम्बना, हालका गृहमन्त्री रमेश लेखक निर्मलाकै गृहजिल्ला कञ्चनपुरबाट निर्वाचित जनप्रतिनिधि हुन्। पदभार ग्रहण गर्दा उनले निर्मलाका हत्यारालाई जसरी पनि पत्ता लगाउने प्रतिबद्धता जनाएका थिए, तर त्यसयता यो विषयमा उनी मौन छन्। लेखककै निजी सचिवालयका अनुसार, उनले यस प्रकरणमा प्रहरी वा सीआईबीसँग कुनै विशेष छलफल वा निर्देशन दिएका छैनन्।
निर्मलाको हत्यापछि हालसम्म रामबहादुर थापा ‘बादल’, बालकृष्ण खाँण, रवि लामिछाने, नारायणकाजी श्रेष्ठ हुँदै रमेश लेखकसम्मले गृह मन्त्रालय सम्हालिसकेका छन्। तर, कुनै पनि गृहमन्त्रीको कार्यकालमा यो प्रकरणले निष्कर्ष पाउन सकेन।
राज्यको निरीहता र छानबिन समितिको प्रतिवेदन बेवास्ता
मानव अधिकारकर्मीहरूले यसलाई राज्यको चरम निरीहता र कायरताको संज्ञा दिएका छन्। "नेपाल प्रहरीले धेरै जटिल केसहरू सुल्झाएको छ, तर यो घटनामा ठूलो दबाब र प्रभाव देखिन्छ," मानव अधिकारकर्मी राजन कुईंकेल भन्छन्, "राज्य लाचार हुँदा पीडकहरू छाती फुलाएर हिँडिरहेका छन्।"
अझ गम्भीर विषय, तत्कालीन उच्चस्तरीय छानबिन समितिले तयार पारेको ३७ पृष्ठ लामो प्रतिवेदन कार्यान्वयन नै नहुनु हो। उक्त प्रतिवेदनले अनुसन्धानमा प्रहरीले गम्भीर लापरबाही गरेको निष्कर्ष निकाल्दै प्रहरीमाथि नै छानबिन गर्न सिफारिस गरेको थियो। तर, सो प्रतिवेदन अहिलेसम्म कार्यान्वयन नहुँदा घटना थप रहस्यमय बनेको अधिवक्ता इन्द्र ढुंगाना बताउँछन्।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रवक्ता युवराज खड्काले अनुसन्धान जारी रहेको बताए पनि पछिल्लो समय कुनै ठोस प्रगति विवरण सार्वजनिक गरिएको छैन। छोरीको न्यायका लागि अनशन बसेका र पटक-पटक न्यायलय धाएका निर्मलाका आमा-बुवाको आशा वर्षहरू घर्किंदै जाँदा मर्दै गएको छ, जबकि निर्मलाको हत्यारा को हो भन्ने प्रश्न अझै अनुत्तरित छ।