काठमाडौँ, जेठ २७ ।
चर्चित सञ्चारकर्मी दिलभूषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । पाठकविरुद्ध विद्युतीय कारोबार ऐन (साइबर) अन्तर्गतको कसुरमा अनुसन्धानका लागि पक्राउ पुर्जी जारी भएको छ। प्रहरीको केन्द्रीय साइबर ब्युरोमा परेको उजुरीका आधारमा काठमाडौँ जिल्ला अदालतले उनलाई पक्राउ गर्न अनुमति दिएको हो।
प्रहरीले पक्राउ पुर्जी जारी भएको पुष्टि केही हप्ताअघि आफ्नो युट्युब च्यानलमा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउबाका छोरा जयवीरसिंह देउवाको व्यावसायिक संलग्नताबारे सामग्री प्रसारण गरेपछि उनीविरुद्ध विद्युतीय कारोबार ऐन (साइबर कानुन) अन्तर्गतको कसुरमा अनुसन्धानका लागि पक्राउ गर्न अदालतले अनुमति दिएको हो।
प्रहरीको केन्द्रीय साइबर ब्युरोमा परेको उजुरीका आधारमा ब्युरोले काठमाडौँ जिल्ला अदालतसँग पक्राउ अनुमतिका लागि अनुरोध गरेको थियो। सोही अनुरोधबमोजिम अदालतले पाठकलाई पक्राउ गर्न पुर्जी जारी गरेको हो। यद्यपि, प्रहरीले पक्राउ पुर्जी जारी भएको पुष्टि गरे पनि उजुरीकर्ताको पहिचान र उजुरीको विस्तृत विवरण भने सार्वजनिक गरेको छैन।
पाठकले तीन हप्ताअघि आफ्नो युट्युब च्यानल 'टफ टक' मार्फत काठमाडौँको नक्सालस्थित पाँचतारे होटल हिल्टनको शेयर खरिद-बिक्रीमा जयवीरको संलग्नता रहेको दाबी गरेका थिए। उक्त भिडियोमा उनले जयवीरको सम्पत्तिमाथि प्रश्न उठाउँदै उनको रियलस्टेट व्यवसाय दुबई, अष्ट्रेलिया हुँदै क्यानडासम्म फैलिएको उल्लेख गरेका थिए। शंकर ग्रुपको मुख्य लगानी रहेको उक्त होटलमा जयवीर पनि जोडिएको दाबी भिडियोमा गरिएको थियो।
यद्यपि प्रहरीले आधिकारिक रूपमा यही विषयमा पक्राउ पुर्जी जारी भएको नभने पनि पाठकले प्रसारण गरेको सोही सामग्रीका कारण उजुरी परेको अनुमान गरिएको छ। यस घटनाले अभिव्यक्ति स्वतन्त्रता र पत्रकारहरूविरुद्ध विद्युतीय कारोबार ऐनको प्रयोगबारे पुनः एकपटक बहस सिर्जना गरेको छ।