रौतहट
नेपाली काँग्रेस जिल्ला कार्यसमिति रौतहटले पार्टीका सह–महामन्त्री तथा वरिष्ठ नेता आदरणीय महेन्द्र यादव र उनका छोरामाथि लगाइएको कपोकल्पित आरोपप्रति गम्भीर आपत्ति जनाएको छ ।
पार्टीले राष्ट्रिय स्वतन्त्र पार्टी अध्यक्ष तथा संसदीय दलका नेता राजेन्द्र प्रसाद लिङ्देनद्वारा उक्त आरोप सार्वजनिक गरिएकामा कडा आपत्ति जनाउँदै कानुनी कारबाहीको माग गरेको छ ।
यस सन्दर्भमा कांग्रेस जिल्ला कार्यसमितिले आज प्रमुख जिल्ला अधिकारी (सीडीओ) विनोदकुमार खड्कालाई ज्ञापनपत्र बुझाएको छ ।
ज्ञापनपत्रमा नेता यादव र उनका परिवारको चरित्र हत्या गर्ने उद्देश्यले षड्यन्त्रपूर्वक आरोप लगाइएको उल्लेख गरिएको छ । साथै, यस्तो गैरजिम्मेवार अभिव्यक्तिका लागि लिङ्देनलाई कानुनी दायरामा ल्याउन माग गरिएको छ ।
ज्ञापन बुझाउने क्रममा कांग्रेसका जिल्ला सभापति, पदाधिकारी, तथा विभिन्न तहका नेताहरूको उपस्थिती थियो । उनीहरूले नेता यादवको राजनीतिक र सामाजिक योगदानको चर्चा गर्दै यस्ता निराधार आरोपले समाजमा भ्रम सिर्जना गर्ने र लोकतान्त्रिक मूल्य–मान्यतामा आघात पुग्ने बताएका थिए ।
कांग्रेसले लोकतान्त्रिक प्रणाली र कानूनको शासनमा विश्वास राख्ने पार्टी भएको भन्दै कुनै पनि व्यक्तिमाथि आधारहीन आरोप लगाइनु निन्दनीय भएको जनाएको छ । पार्टीले यस्ता घटनाका विरुद्धमा आवश्यक कानुनी तथा राजनीतिक प्रतिकार गर्ने चेतावनीसमेत दिएको छ ।