काठमाडौँ ।
नेकपा (एमाले) निकट युवा संघ पर्वतको जिल्ला अधिवेशनका क्रममा विवाद चर्किँदा दुई पक्षबीच हानाहान भएको छ। घटनामा एमाले गण्डकी प्रदेश सदस्य अर्जुन पौडेल ‘निर्जन’ र ध्रुब श्रेष्ठ घाइते भएका छन्।
प्राप्त जानकारी अनुसार अधिवेशन संचालनको विषयमा मतभेद भएपछि विवाद उत्कर्षमा पुगेको थियो। निर्जनको टाउकोमा धारिलो हतियार प्रयोग गरी आक्रमण भएको र गम्भीर चोट लागेर रगत बगिरहेको एमाले पर्वतका एक नेताले जानकारी दिएका छन्। उनीहरू अहिले स्थानीय शान्तिदीप अस्पतालमा उपचाररत छन्।
घटनाको मूल कारण पार्टीभित्रको गुटीय विवाद रहेको खुलेको छ। राष्ट्रिय सभाका पूर्व अध्यक्ष गणेश तिमिल्सिना र पूर्व कानुनमन्त्री पदम गिरी नेतृत्वको समूहबीच विवादले अधिवेशनमै हिंसात्मक रूप लिएको हो। गिरी समूहले अधिवेशन अनिवार्य गर्ने अडान लिएपछि झडप भएको बताइएको छ। युवा संघ पर्वतका अध्यक्ष विनोद थापा जिल्ला भित्रै भए पनि अधिवेशनमा सहभागी हुन नपाउँदै कार्यक्रम सुरु गरिएको थियो। उपाध्यक्ष आशिष श्रेष्ठले अध्यक्षता गरेका अधिवेशनको सञ्चालन उपसचिव ध्रुब श्रेष्ठले गरेका थिए।
जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी इन्स्पेक्टर रामप्रसाद सापकोटाले भने कार्यक्रम चलिरहेकै बेला धकेलाधकेल भएको जानकारी आएको जनाएका छन्। धारिलो हतियारको प्रयोगबारे भने प्रहरीलाई औपचारिक जानकारी नभएको उनले बताएका छन्। घटनाबारे थप अनुसन्धान भइरहेकाे छ ।