पर्सा ।
वीरगञ्ज महानगरपालिका–२३ मा रहेको माउन्ट हर्मन माविका विद्यार्थीहरूले आइतबार एक भव्य विज्ञान प्रदर्शनीको आयोजना गरेका छन्।
बुद्ध जयन्तीको अवसर पारेर विद्यालय परिसरमा गरिएको उक्त कार्यक्रममा नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीहरूले आफ्ना सिर्जनात्मक र वैज्ञानिक क्षमता प्रस्तुत गर्दै विभिन्न विज्ञान सामग्रीहरू प्रदर्शन गरेका थिए।
प्रदर्शनीमा विद्यार्थीहरूले निर्माण गरेका आधुनिक मिसाइल, सोलार सिस्टम, इलेक्ट्रिक बोट, डाइजेस्टिभ सिस्टम, माइक्रोस्कोपजस्ता दर्जनौं वैज्ञानिक उपकरणहरूले आगन्तुकको ध्यान आकर्षित गरे। विद्यार्थीहरूको सिर्जनशीलता र मेहनतले कार्यक्रम स्थल उत्साहजनक र जिज्ञासापूर्ण बनेको थियो।
कार्यक्रमका प्रमुख अतिथि वडा नं २३ का अध्यक्ष अवध किशोर कुशवाहाले अमलाको बोटमा पानी हालेर कार्यक्रमको उद्घाटन गरे। उद्घाटनपश्चात बोल्दै उनले भने, “विद्यार्थीहरूले बनाएका विज्ञान सामग्री हेर्दा उनीहरूको क्षमता र मेहेनतप्रति म दंग छु।” उनले माउन्ट हर्मन माविलाई एउटा अनुकरणीय शैक्षिक संस्था भएको बताए।
एन्जल वर्ल्ड स्कूलका सञ्चालक राम श्रेष्ठले विद्यार्थीहरूको कामको खुलेर प्रशंसा गरे। “आज यिनीहरूले जुन खालका सामग्री बनाएका छन्, ती अरु विद्यालयका विद्यार्थीहरूलाई चुनौती दिने खालका छन्,” श्रेष्ठले भने। उनले विद्यार्थीहरूको प्रयोगात्मक ज्ञान र वैज्ञानिक सोच सराहनीय रहेको बताए।
प्रदर्शनीमा उत्कृष्ट स्थान हासिल गर्ने विद्यार्थीहरूलाई विद्यालय प्रशासनद्वारा विशेष कार्यक्रममार्फत सम्मान गरिने विद्यालयका सञ्चालक तथा प्रधानाध्यापक सन्तोष गुप्ताले जानकारी दिए। उनले कार्यक्रमलाई सफल बनाउन योगदान दिने विद्यार्थी, शिक्षक, अभिभावक, जनप्रतिनिधि र सञ्चारकर्मीप्रति धन्यवाद व्यक्त गर्दै भविष्यमा अझ फरक र व्यवस्थित कार्यक्रम आयोजना गर्ने प्रतिबद्धता जनाए।
प्रदर्शनीको मूल्याङ्कनको जिम्मेवारी एन प्याब्सन पर्साका कोषाध्यक्ष राजेश लिम्बू र शिक्षक पंकज पाण्डेलाई दिइएको थियो। उनीहरूले सामग्रीको मौलिकता, प्रस्तुति र वैज्ञानिक औचित्यमाथि मूल्यांकन गर्दै विजेता छनोट गरेका थिए।
कार्यक्रमको सञ्चालन विद्यालयकी छात्रा नन्दनी कुमारी दासले आत्मविश्वासपूर्वक गरेकी थिइन्। उनको प्रस्तुति शैलीले उपस्थित सबैलाई प्रभावित पार्यो।
माउन्ट हर्मन माविमा आयोजित विज्ञान प्रदर्शनी न केवल विद्यार्थीहरूको प्रतिभा उजागर गर्ने थलो बन्यो, तर अभिभावक, जनप्रतिनिधि र शिक्षा क्षेत्रका सरोकारवालाहरूलाई समेत आशावादी बनायो। यस किसिमका कार्यक्रमहरूले बालबालिकामा वैज्ञानिक चेतना विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।