रौतहट ।
रौतहटका नवनियुक्त प्रहरी उपरीक्षक (एसपी) नेत्रमणि गिरीले आफू कुनै राजनीतिक या बाह्य प्रभावका आधारमा नभई नियमित प्रशासनिक प्रक्रिया अनुसार रौतहट आएको स्पष्ट पारेका छन्।
जिल्ला प्रहरी कार्यालयले आयोजना गरेको एक परिचयात्मक कार्यक्रममा बोल्दै उनले “म कसैको सोर्समा आएको हैन, यदि रौतहट आउनै पर्ने हैनथ्यो भने म महोत्तरी वा सर्लाही जान्थेँ,” भन्दै कुनैपनि आशंका खारेज गरे।
कार्यक्रममा उपस्थित पत्रकारहरूको जिज्ञासामा जवाफ दिँदै एसपी गिरीले अपराध नियन्त्रण, शान्ति सुरक्षा र न्याय सुनिश्चित गर्न आफू पूर्ण प्रतिबद्ध रहेको जनाए। उनले स्पष्ट शब्दमा भने, “पीडितलाई अन्याय हुन दिन्न। कसैलाई दुख दिने मेरो उद्देश्य छैन। निर्दोषलाई दुःख दिने काम नगरौं।”
एसपी गिरीले आफू सबैप्रति समान दृष्टिकोण राख्ने र कानुनअनुसार काम गर्ने बताए। “प्रहरी प्रशासनको उद्देश्य जनताको सेवा हो, र म यो जिम्मेवारी निष्ठापूर्वक निर्वाह गर्नेछु,” उनले जोड दिए।
रौतहटमा पछिल्ला दिनमा आपराधिक गतिविधि र शान्ति सुरक्षाको सवालमा नागरिकको चासो बढिरहेका बेला गिरीको आगमनलाई नागरिक समाजले सकारात्मक रुपमा लिएको देखिन्छ। उनका भनाइले निष्पक्ष र कडारूपमा काम गर्ने आशा झनै बलियो बनाएको छ।
एसपी गिरीको स्पष्ट वक्तव्य र पीडितप्रति संवेदनशीलता झल्काउने प्रतिबद्धताले रौतहटमा कानूनी शासनलाई बलियो बनाउने अपेक्षा गरिएको छ। अबको दिनमा उनले बोलेको प्रतिबद्धता व्यवहारमा कसरी उतारिन्छ भन्नेतर्फ सबैको नजर रहनेछ।