सप्तरी ।
सप्तरीको रुपनी गाउँपालिका–५ मलेठस्थित औद्योगिक क्षेत्रमा सञ्चालन भइरहेको महायज्ञको मण्डपमा सोमबार साँझ अचानक आगलागी भएको छ ।
महायज्ञको आठौँ दिन बेलुकी मुख्य मण्डपमा आगलागी हुँदा मण्डप पूर्ण रूपमा जलेर नष्ट भएको प्रत्यक्षदर्शीले बताएका छन् ।
घटना साँझ करिब ६ बजे तिरको हो । हवन कार्यक्रम सञ्चालन भइरहेको बेला अचानक मण्डपको एक भागमा आगो लागेपछि तत्कालै मण्डपभर फैलिएको थियो ।
स्थानीयको सक्रियता र मौसमको अनुकूलताका कारण आगो आफैँ निभिएको भए पनि यसले केही समयका लागि महायज्ञस्थलमा त्रास फैलिएको थियो ।
आगलागीबाट मण्डपका लत्ताकपडा, हवनका सामग्री, सजावटका सामाग्री लगायत महत्वपूर्ण सामग्री जलेर नष्ट भएका छन् ।
यद्यपि, आगो ठूलो दुर्घटनामा रूपान्तरण हुनु अघि नै निभिएकाले कुनै मानवीय क्षति भने नभएको आयोजक समितिले जनाएको छ ।
आगलागीपछि राजविराज नगरपालिकाबाट बारुण यन्त्र (दमकल) घटनास्थल पुगेको थियो, तर आगो नियन्त्रणमा आइसकेपछि मात्र दमकल पुगेको स्थानीयले बताएका छन् ।
गत २१ वैशाखदेखि आयोजना गरिएको सो महायज्ञ औद्योगिक क्षेत्रको जमिनमा विद्यमान दोषहरूबाट मुक्ति दिलाउने उद्देश्यले गरिएको हो । साथै, यसलाई क्षेत्रको धार्मिक, सामाजिक र सांस्कृतिक शुद्धीकरणस्वरूप पनि हेरिएको छ ।
महायज्ञमा एक हजार आठ मण्डप निर्माण गरी कीर्तन मण्डली, हनुमान आराधना मण्डली, वृन्दावनको रासलीला, रामलीला, रामचरित्र मानस पाठ, उच्चकोटीका विद्वानहरूद्वारा प्रवचन तथा विशाल भण्डाराको पनि व्यवस्था गरिएको थियो ।
हाल आयोजक समितिले मण्डप पुनःनिर्माणको तयारी थालेको छ भने बाँकी कार्यक्रमहरू नियमित रूपमा सञ्चालन हुने जनाइएको छ ।