काठमाडौँ ।
विपद्का घटनामा परेर पछिल्लो २४ घण्टामा देशभर चार जनाको मृत्यु भएको छभने २८ जना घाइते भएका छन् ।
प्रिमनसुनका समयमा भएको मौसम बदलीपछि आएको हावाहुरी, बाढी, पहिरोलगायत विपद्जन्य घटनाबाट ५० जिल्ला प्रभावित भएका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका प्रवक्ता रामबहादुर केसीका अनुसार हावाहुरीका कारण मात्रै चार जनाको मृत्यु र २१ जना घाइते भएका छन् । चट्याङबाट दुई, जनावरको आक्रमणबाट चार र लेक लागेर एकजना घाइते भएका छन् ।
उनका अनुसार शुक्रबारदेखि शनिबार २४ घण्टाको अवधिमा ५० जिल्लामा ९४ वटा विपद्का घटना भएको छन् ।
ती घटनाहरूबाट रु एक करोड आठ लाखको अनुमानित आर्थिक क्षति भएको प्राधिकरणले जानकारी गराएको छ । ती घटनाबाट दुईवटा पशुचौपायसमेत मरेका छन् ।
प्राधिकरणबाट प्राप्त विवरणमा सबैभन्दा बढी हावाहुरीका ५९ र आगलागीका १६ वटा घटना भएका छन् । अन्यमा चट्याङ, पहिरो, बाढी, अविरल वर्षाका घटना भएका छन् ।