रौतहट ।
नेपाल राष्ट्रिय शिक्षक संगठन, रौतहटको १४औं जिल्ला अधिवेशन शनिबार सम्पन्न भएको छ। रौतहटको झुनसुनवा माध्यमिक विद्यालयमा आयोजित अधिवेशनमा संगठनको नयाँ नेतृत्व सर्वसम्मत रुपमा चयन गरिएको छ। अधिवेशनको उद्घाटन कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी भएका संगठनका मधेश प्रदेश अध्यक्ष नरेन्द्र प्रसाद यादवले हाल शिक्षक संगठनका नाममा च्याउझै उम्रिएका संघ-संस्था पैसा कमाउने र दलाली गर्ने केन्द्र बन्दै गएको गम्भीर आरोप लगाएका छन्।
उनले नेपाल शिक्षक महासंघको नेतृत्वमा हालसम्म भएका आन्दोलनबाट शिक्षकका मागहरू पूरा नहुने दाबी गरे। “राजनीतिक हस्तक्षेप र नेतृत्वको असफलताले शिक्षक आन्दोलन निष्क्रिय जस्तै बनेको छ,” अध्यक्ष यादवले उद्घाटन सत्रमा भने। उनले बन्द कोठाभित्र सिमित व्यक्तिको उपस्थितिमा गठन गरिएको शिक्षक महासंघलाई खारेज गरी खुला, पारदर्शी र सहभागी प्रक्रियामार्फत पुनर्गठन गर्नुपर्ने माग पनि गरे।
यादवले २०३६ सालमा स्थापना भएको नेपाल राष्ट्रिय शिक्षक संगठनले शिक्षक तथा विद्यालय कर्मचारीको हकहितमा उल्लेखनीय कार्य गर्दै आएको स्मरण गर्दै रौतहटमा संगठन कमजोर हुनुमा पूर्वप्रधानमन्त्री माधव नेपालले पार्टी फुटाएको घटनालाई दोष दिए। उनले २०८४ सालमा नेकपा (एस) को पतन हुने दाबी गर्दै शिक्षकहरूलाई संगठन बलियो बनाउन लाग्न आग्रह गरे।
कार्यक्रममा नेकपा एमालेका प्रदेश सदस्य तथा शिक्षक संगठनका पूर्व अध्यक्ष मनि शंकर निधिले पनि बोल्दै संगठन राजनीतिक कारणले केही कमजोर भए तापनि ब्रास नमानि एकजुट भएर संगठन विस्तारमा लाग्नुपर्ने बताए। “संगठन विस्तार गरी पुनः पुर्ववत् मजबुत बनाउने सकिने विश्वास राख्नुपर्छ,” उनले भने।
कार्यक्रममा नेकपा एमाले रौतहटका उपाध्यक्ष रुपेश पटेल, मधेश प्रदेश सदस्य पुरुषोत्तम हरि घिमिरे, शिक्षक अशोक कुमार यादव, झुनसुनवा माध्यमिक विद्यालयका प्रधानाध्यापक बिरेन्द्र प्रसाद साह, जनता मावि कटहरियाका अचल कुमार शाही, मावि जामुनियाका प्रधानाध्यापक योगेन्द्र प्रसाद कुशवाहालगायतले आ–आफ्ना मन्तव्य राखेका थिए।
"गौरवशाली विगत, चुनौतिपूर्ण वर्तमान, लगानी वृद्धि गरि सार्वजनिक शिक्षाको उन्नयन, राष्ट्रिय शिक्षा ऐन र सबै तहमा सशक्त संगठन" भन्ने मूल नाराका साथ सम्पन्न अधिवेशनबाट योगेन्द्र प्रसाद कुशवाहाको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरिएको निवर्तमान अध्यक्ष अनिल कुमार निधिले जानकारी दिए।
जिल्ला अधिवेशनको सफल समापनसँगै अब रौतहट जिल्लामा नेपाल राष्ट्रिय शिक्षक संगठनलाई थप व्यवस्थित, सशक्त र जनउत्तरदायी बनाउने दिशा तय भएको नेताहरूले बताएका छन।