काठमाडौँ । कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, राज्यविरुद्धको अपराधसहित गम्भीर ६ मुद्दा लगाइएका विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाद प्रसाईले सरकारी वकिल र प्रहरीमा इन्कारी बयान दिएका छन् ।
गएको चैत १५ गते काठमाडौँको तीनकुनेमा राजावादीले गरेको प्रदर्शन घटनाका मुख्य आरोपित प्रसाईं रहेको भन्दै आइतबार (जेठ ११) जिल्ला सरकारी वकिल कार्यालयले उनीसहित ६२ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । सोही मुद्दाको अभियोजनमा प्रसाईंले घटनाबारे इन्कारी बयान दिएका हुन् ।
उनले बयानमा भनेका छन्, ‘‘१५ चैतको १ बजे कार्यक्रम गर्नुपर्ने साइतअनुसार १२ बजेर ३१ मिनेटमा कार्यक्रममा जान घरबाट आफ्नै हाइलक्स गाडीमा आएको हुँ । आउँदा बाटोको दायाँबायाँबाट सबैले अभिवादन गर्दै थिए ।” “तर, तीनकुने पुग्दा भने आँखा पोल्न थाल्यो । के रहेछ भनेर हेर्दा मञ्चमा टियर ग्यासको धुवाँ रहेछ । म तीनकुने पुग्दा मेरो काननजिकैबाट गोली समेत गएको महसुस भयो । त्यसपछि भने मलाई आज मार्ने योजना रहेको चाल पाएपछि चालकलाई गाडीबाट निकालेर आफ्नै ज्यान जोगाउन भागेको हुँ ।’’