काठमाडौँ,जेठ २५।
भारतको हैदराबादमा आफ्नी लिभ-इन पार्टनरको हत्या गरी शव ट्राभल ब्यागमा फालेको आरोपमा एक नेपाली युवक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा स्थानीय रेस्टुरेन्टका सेफ, ३० वर्षीय विजय टोप्पा छन् भने मृतक ३३ वर्षीया तारा बोहरा हुन्। प्रहरीका अनुसार, फेसबुकमार्फत चिनजान भएपछि विवाहित तारा आफ्ना श्रीमान् र दुई सन्तान छाडेर विजयसँग बस्न हैदराबाद पुगेकी थिइन्।
जेठ १० गते तारा गर्भवती भएको विषयमा भएको विवादमा विजयले नाइलनको डोरीले घाँटी थिचेर उनको हत्या गरेको र शवलाई झोलामा राखेर फालेको प्रहरीले जनाएको छ।
जुन ४ मा शव फेला परेपछि प्रहरीले सीसीटीभी फुटेजको आधारमा विजयलाई पक्राउ गरेको हो। विजयले हत्या स्वीकार गरिसकेका छन् र प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।