साउदी अरबको चर्चित फुटबल क्लब अल–नासर एएफसी च्याम्पियन्स लिग इलिटको सेमिफाइनलमा पुगेको छ। क्लबले जापानी टोली योकोहामा एफ मरिनोसलाई ४–१ को ठूलो अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो।
खेलमा अल–नासरका लागि जोन डुरानले दुई गोल गरे, जसले टोलीलाई अग्रता दिलाउन महत्वपूर्ण भूमिका निभायो। त्यस्तै साडियो मानेले एक गोल थपेर जितलाई अझै सशक्त बनाएका थिए। अर्कोतर्फ, योकोहामाका तर्फबाट के वाटानावेले एक मात्र सान्त्वना गोल गरेका थिए।
विशेष आकर्षण भने क्रिस्टियानो रोनाल्डोको प्रदर्शन रह्यो। ४० वर्षीय रोनाल्डोले खेलको ३८औँ मिनेटमा गोल गर्दै टोलीको जितमा ठुलो योगदान दिएका थिए। यो गोलसँगै उनले आफ्नो व्यक्तिगत करियरमा ९३४ औं गोल पूरा गरेका छन्। उनी अहिले विश्व फुटबलमा १००० गोल पूरा गर्ने ऐतिहासिक लक्ष्यतर्फ तीव्र गतिमा अगाडि बढिरहेका छन्।
उनको यो उपलब्धि केवल व्यक्तिगत मात्र नभई क्लबको लागि पनि गर्वको विषय बनेको छ। उच्च उमेरमा पनि यस्तो निरन्तरता र प्रभावशाली प्रदर्शन देखाउन सक्नु रोनाल्डोको अद्वितीय क्षमताको प्रमाण हो।
अब अल–नासर सेमिफाइनलमा प्रवेश गरेसँगै, प्रतियोगिता जित्ने सपना अझ मजबुत बनेको छ। समर्थकहरू र फुटबल प्रेमीहरू रोनाल्डो र टोलीसँग अझ ठूलो उपलब्धिको आशा राखिरहेका छन्।