विगत धेरै वर्षदेखि फोहोर, मलमुत्र, रसायन, र खनिज उत्खननका कारण साङ्गे खोला, महादेव खोला र धर्मस्थली खोला जस्ता मुख्य र सहायक खोलाहरू अस्तित्व संकटमा पुगेका छन्। यी खोलाहरू फोहोरको डंगुर, उद्योग-कलकारखानाबाट निस्किएको विषाक्त रङ्ग र अन्य प्रदूषक तत्वहरूले भरिएका छन्। खोलाको पानी अत्यन्तै प्रदूषित भएपछि, खोलामा बसोबास गर्ने जलचर जीवहरूको जीवन सम्भव रहन सकेको छैन।
समस्या यति गम्भीर बनिसकेको छ कि वर्षको ११ महिना नगरपालिका आफैंले आफ्नो बजेट प्रयोग गरी बस्तीको मलमुत्रलाई ढलमार्फत सोझै खोला प्रणालीमा मिसाइरहेको छ। यसरी निरन्तर दूषित पारिएको खोला प्रणालीले प्राकृतिक स्रोतहरू मात्र होइन, जनस्वास्थ्यलाई समेत खतरा सिर्जना गरेको छ।
तर, वर्षातको एक महिना मात्रै देखावटी सरसफाइ अभियान चलाइन्छ। खोलामा पानीको बहाव बढ्ने समयमा बालुवामाथि थोपा पानी जस्तै सामान्य सरसफाइ कार्यक्रम गरी, राज्य कोषको अनावश्यक दोहन मात्र गरिन्छ। वास्तविक सुधारका लागि कुनै दीर्घकालीन योजना, दूरदर्शिता, वा प्रतिबद्धता देखिन्न।
खोलाहरूको प्रदूषणको अवस्था
महादेव खोलाको प्रदूषण: एक अध्ययन अनुसार महादेव खोलामा घरेलु र औद्योगिक फोहोरको सिधा निकास, अत्यधिक बालुवा उत्खनन, र पानीको प्रवाहमा कमीले गर्दा खोलाको पानीको गुणस्तर दिनप्रतिदिन खस्कँदै गएको छ। खोलाको स्रोत क्षेत्रमा पानी पिउन योग्य भए पनि मध्य र अन्तिम बिन्दुहरूमा पानीको गुणस्तर मध्यमदेखि खराब अवस्थामा रहेको छ।
जनप्रतिनिधिहरू आफ्नो काम, कर्तव्य र अधिकारप्रति असजग छन्। परिणामस्वरूप, पर्यावरणीय संकट समाधानका नाममा केवल उडन्ते योजना र सतही गतिविधिहरू भइरहन्छन्, जसले समस्या समाधान गर्नु त परै जाओस्, झन् झन् जटिलता थपिरहेको छ।
यदि तत्कालीन प्रभावकारी नीति, दिगो योजना र कडाइका साथ अनुगमन नगरिएमा, यी खोलाहरू पूर्ण रूपमा नष्ट हुनेछन् र भविष्यमा हाम्रो पुस्ताले शुद्ध पानी र स्वस्थ वातावरणको सपना मात्र देख्न बाध्य हुनेछ।
त्यसैले, तत्काल:
- ढल व्यवस्थापन प्रणालीको सुधार,
- उद्योगजन्य रासायनिक पदार्थको निषेध,
- अवैध खनिज उत्खनन नियन्त्रण,
- खोला सरसफाइलाई नियमित , दिगो गुरु योजना र वैज्ञानिक पद्धतिमा रूपान्तरण गर्नु
- जनप्रतिनिधिहरूलाई कडाइका साथ जवाफदेही बनाउने अभियान अत्यावश्यक छ।
खोलाहरू कुनै फोहोर फाल्ने ठाउँ होइनन्; ती जीवनका स्रोतहरू हुन्। हामीले आजैबाट ठोस कदम चाल्न सकेनौँ भने, आगामी पुस्ताले केवल खोलाको नाम मात्रै सम्झनेछ, अस्तित्व होइन। त्यसैले तत्काल प्रदूषण रोक्न, प्राकृतिक स्रोतहरूको संरक्षण गर्न, र दीगो विकासका सिद्धान्तहरू लागू गर्न राज्य, स्थानीय तह र आम नागरिकहरू सबैले संयुक्त प्रयास गर्न जरुरी छ।

