सिराहा ।
जिल्लाको लहानस्थित ऐतिहासिक सलहेश फूलबारीको संरक्षणका लागि मधेश प्रदेश सरकारले निर्माण गर्न लागेको डा. भीमराव अम्बेडकर पार्कको तीव्र विरोध सुरु भएको छ।
पार्क निर्माणको नाममा ऐतिहासिक र सांस्कृतिक सम्पदा विनाश गर्ने प्रयास भइरहेको भन्दै पासवान समुदाय स्वयं आन्दोलनमा उत्रिएको छ।
राजा सलहेश र डा. बाबासाहेब अम्बेडकर दुवै दलित समुदाय, विशेष गरी पासवान जातिसँग सम्बद्ध ऐतिहासिक व्यक्तित्व हुन्।
तर, प्रदेश सरकारले सलहेश फूलबारी क्षेत्रमै अम्बेडकर पार्क बनाउने निर्णय गरेपछि पासवान समुदायले नै विरोध जनाएको दृश्यले व्यापक राजनीतिक र सामाजिक बहस जन्माएको छ।
आइतबार 'सलहेश फूलबारी संरक्षण संघर्ष समिति'का अगुवाइमा मधेश प्रदेशका आठवटै जिल्लाबाट प्रतिनिधिहरू जनकपुर पुगेका थिए।
उनीहरूले मुख्यमन्त्री सतिश कुमार सिंहलाई ज्ञापन पत्र बुझाउँदै पार्क निर्माण तुरुन्त रोक्न माग गरे।
ज्ञापन पत्र बुझाउने प्रतिनिधिमण्डलमा राष्ट्रिय सभा सदस्य तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का केन्द्रीय सदस्य राधेश्याम पासवान, पूर्व संविधानसभा सदस्य महेन्द्र पासवानसहित थुप्रै अगुवाहरु सहभागी थिए।
राष्ट्रिय सभा सदस्य पासवानले आरोप लगाए, “मधेश प्रदेश सरकारले षड्यन्त्रपूर्वक सलहेश फूलबारीको ऐतिहासिक अस्तित्व मेटाउन खोज्दैछ। यो हाम्रो पहिचान र संस्कृतिमाथिको प्रहार हो।” उनले प्रदेश सरकार चेत नपाए चरणबद्ध आन्दोलनको घोषणा हुने स्पष्ट पारे ।
यो विवाद गत बैशाख १५ गते शिलान्याससँगै सुरु भएको हो, जब जनमत पार्टीका अध्यक्ष डा.चन्द्रकान्त राउत (सिके) र मुख्यमन्त्री सिंहले संयुक्त रूपमा सलहेश फूलबारीको छेउमा डा. अम्बेडकर पार्कको शिलान्यास गरेका थिए।
सोही दिनबाटै सामाजिक सञ्जालमा र स्थानीयबासीको बीच चर्को असन्तुष्टि देखिएको थियो।
सांस्कृतिक संरक्षणकर्मीहरू भन्छन्, सलहेश फूलबारी केवल पर्यटकीय स्थल नभई मधेशको लोकजीवन, परम्परा र जातीय चेतनाको केन्द्र हो। त्यसको छेउमा आधुनिक पार्क बनाउँदा यसको मौलिकता समाप्त हुने उनीहरूको तर्क छ।
सरकारले भने अम्बेडकर पार्क निर्माण दलित सशक्तीकरणको एउटा प्रयास भएको बताउँदै आएको छ। तर स्थानको चयनमै चुक भएको आरोप अब तीव्र बन्न थालेको छ। हालसम्मको विवाद हेर्दा यो योजना स्थगित हुने सम्भावना प्रबल देखिन्छ।
यसैबीच, मधेश प्रदेश सरकारले औपचारिक निर्णय नगरे पनि विरोधलाई ध्यानमा राख्दै कार्य अगाडि नबढाउने संकेत दिएको स्रोतले बताएको छ।