काठमाडौँ, जेठ २३ ।
उदयपुरको त्रियुगा नगरपालिका–५ देउरीमा सञ्चालित एक बेकरी उद्योगलाई मापदण्डविपरीत तथा गुणस्तरहीन उत्पादन गरेको अभियोगमा स्थानीय प्रशासनले १० हजार रुपैयाँ जरिवाना गरेको छ।
जिल्ला प्रशासन कार्यालय, उदयपुरले उदयपुर बेकरी नामक उद्योगले गुणस्तरहीन पाउरोटी उत्पादन गरी उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड गरेको कसुरमा उक्त जरिवाना गरेको हो।
अनुगमन टोलीले उद्योगको स्थलगत निरीक्षण गर्दा उत्पादन प्रक्रियामा सरसफाइको कमी र गुणस्तरहीन कच्चा पदार्थ प्रयोग भएको पाएको थियो।
प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलका अनुसार, अनुगमन टोलीले तत्काल कारबाही स्वरूप उद्योगलाई १० हजार रुपैयाँ जरिवाना गरेको हो। ‘उद्योगमा सधैँ सरसफाइ कायम राख्न र गुणस्तरयुक्त वस्तुमात्र उत्पादनमा प्रयोग गर्न नसिहतसहित उक्त रकम जरिवाना गराइएको छ’, प्रजिअ लुइँटेलले बताए।
प्रशासनले आगामी दिनमा पनि बजार अनुगमनलाई निरन्तरता दिने र उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड गर्ने कुनै पनि व्यवसायलाई कारबाहीको दायरामा ल्याउने जनाएको छ।