काठमाडौँ, जेठ २७ ।
खानेपानीमन्त्री प्रदीप यादवले प्रत्येक नेपालीको घरमा शुद्ध खानेपानी पुर्याउन सरकार प्रतिबद्ध रहेको बताएका छन्। झापाको भद्रपुरमा विगत ३० वर्षदेखि बन्द रहेको पृथ्वीनगर खानेपानी आयोजनाको स्वामित्व नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गर्ने कार्यक्रममा बोल्दै उनले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन्।
मन्त्री यादवले आम नागरिकलाई शुद्ध र स्वच्छ पानी उपलब्ध गराउन चापाकल विस्थापित गरी डिप बोरिङमार्फत पानी वितरण गर्ने सरकारको योजना रहेको जानकारी दिए। उनले स्वामित्व हस्तान्तरणसँगै भद्रपुरका जनताले छिट्टै शुद्ध खानेपानी पाउने गरी काम अघि बढाउन मातहतका निकायलाई निर्देशन दिएका छन् । ‘देशभर सतप्रतिशत आधारभूत खानेपानी र ३७ प्रतिशत शुद्ध खानेपानीको पहुँच पुगेको छ,’ मन्त्री यादवले भने, ‘आर्थिक अभावका कारण कुनै पनि आयोजना रोकिने छैन।’
कार्यक्रममा पृथ्वीनगर खानेपानी आयोजनाका सचिव पृथ्वीनारायण कार्कीले पानीमा आइरनको मात्रा अत्यधिक देखिएपछि आयोजना सञ्चालनमा आएको दुई वर्षमै बन्द भएको र विगत ३० वर्षदेखि अलपत्र रहेको बताए । अब खानेपानी संस्थानलाई स्वामित्व हस्तान्तरण गरिएसँगै स्थानीयले शुद्ध पानी पाउनेमा उनले विश्वास व्यक्त गरेका छन्।
संस्थानका महाप्रबन्धक अर्जुनबाबु ढकालका अनुसार यस आयोजनाबाट भद्रपुर नगरपालिकाका वडा नंं.१, २ र ३ का करिब ३ हजार ५ सय घरपरिवार लाभान्वित हुनेछन्। उनले ‘एक घर, एक धारा’ को लक्ष्य पूरा गर्न सबैको सहयोग आवश्यक रहेको बताए।