काठमाडौँ, जेठ २४ ।
कैलालीको टिकापुरमा एक प्रहरी नायब निरीक्षक (सई) ले ‘तँ’ भनेर सम्बोधन गरेको निहुँमा एक महिलामाथि कुटपिट गरेका छन्। सई यज्ञराज पन्तले सादा पोसाकमा महिलामाथि हातपात गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि घटना बाहिर आएको हो।
शुक्रबार दिउँसो टिकापुर नगरपालिका-७ मा स्कुटीमा रहेकी राजकुमारी कुँवर शाहलाई प्रहरीले रोकेको थियो। सोही क्रममा प्रहरी हवल्दार सुरेन्द्र बोहरासँग सामान्य भनाभन हुँदा सई पन्तले महिलालाई ‘तँ’ भन्दै दुर्व्यवहार र हातपात गरेका थिए। सार्वजनिक भिडियोमा प्रहरीले महिलालाई जबरजस्ती नियन्त्रणमा लिएको देखिन्छ।
घटनापछि शुक्रबार राति दुवै पक्षबीच छलफलको प्रयास भए पनि पीडित महिलाले दोषी प्रहरीमाथि कारबाही हुनुपर्ने अडान लिएकी छन्।
यसैबीच, कैलालीका प्रहरी प्रमुख एसपी बालनरसिंह राणाले घटनामा संलग्न सई पन्त र हवल्दार बोहरालाई जिल्ला प्रहरी कार्यालय, कैलालीमा झिकाएर छानबिन सुरु गरिएको जानकारी दिनुभएको छ। "सार्वजनिक भएको भिडियो हेर्दा प्रारम्भिक रूपमा प्रहरीको गल्ती देखिन्छ," एसपी राणाले भने, "दोषी देखिए विभागीय कारबाही अगाडि बढाइनेछ।"