काठमाडौँ,जेठ २५।
सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ः०० बजे बस्ने गरी समय निर्धारण भएको छ
आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८२र८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र सो प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची छ ।
यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति राम हरि खतिवडाले ‘सङ्घीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्नुहुने छ ।
यद्यपि, ‘भिजिट भिसा’ प्रकरणमा गृहमन्त्री रमेश लेखकको संलग्नता रहेको आरोप लगाउँदै प्रमुख प्रतिपक्षी दलले उनको राजीनामा माग गर्दै आएको छ । सोही माग राखेर विपक्षी दलहरूले लगातार संसद् बैठक अवरुद्ध गर्दै आएकाले आजको बैठक पनि सहजै अघि बढ्नेमा शङ्का छ । पछिल्ला दिनहरूमा विपक्षीको अवरोधका कारण संसद्का महत्वपूर्ण कार्यसूची प्रभावित हुँदै आएका छन् । आजको बैठकमा सरकार र प्रतिपक्षबीच सहमति जुटेर नियमित कार्यसूचीमा प्रवेश गर्छ वा अवरोध कायमै रहन्छ भन्ने विषयलाई चासोका साथ हेरिएको छ ।