काठमाडौँ,जेठ २५।
आईसीसी विश्वकप लिग–२ एक दिवसीय त्रिकोणात्मक सिरिज अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्कटल्यान्डसँग भिड्दै छ। स्कटल्यान्डको डुन्डीस्थित फोर्थहिल क्रिकेट मैदानमा हुने यो खेल नेपाली समयअनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ।
सिरिजमा लगातार दुई जित निकालेर अपराजित रहेको नेपाल आज पनि सोही लयलाई कायम राख्दै जितको ह्याट्रिक गर्ने लक्ष्यमा छ। सिरिजको पहिलो खेलमा नेपालले रोमाञ्चक प्रतिस्पर्धामा स्कटल्यान्डलाई नै १ बल बाँकी रहँदा १ विकेटले पराजित गरेको थियो। सोही जितले उच्च बनेको मनोबलका साथ नेपालले आफ्नो दोस्रो खेलमा नेदरल्यान्ड्सलाई ५ विकेटले सहजै हराएको थियो।
यता, पहिलो खेलमा नेपालसँग भोगेको सनसनीपूर्ण हारको बदला लिने दाउमा स्कटल्यान्ड मैदान उत्रनेछ। घरेलु मैदानमा नेपाललाई हराएर आफ्नो प्रतिष्ठा जोगाउन स्कटल्यान्डका लागि यो खेल महत्त्वपूर्ण छ। स्कटल्यान्डले सिरिजको आफ्नो दोस्रो खेलमा नेदरल्यान्ड्सलाई ४४ रनले पराजित गरेको थियो।
विश्वकप लिग–२ को अङ्क तालिकामा स्कटल्यान्ड १८ खेलबाट २२ अङ्कसहित चौथो स्थानमा छ भने नेपाल १४ खेलबाट १० अङ्क जोड्दै सातौँ स्थानमा रहेको छ। आजको जितले नेपाललाई अङ्क तालिकामा सुधार गर्ने अवसर मिल्नेछ।