काठमाडौँ, जेठ २६ ।
पर्वत जिल्लाको सदरमुकाम कुश्मा बजारभित्रकै एक महत्वपूर्ण सडक विगत एक दशकदेखि जीर्ण र अलपत्र अवस्थामा छ । कुश्मा नगरपालिका–५ स्थित बडगाउँको उक्त सडक मर्मतका लागि पटक-पटक आवाज उठाए पनि सम्बन्धित निकायले चासो नदिँदा नागरिकले सास्ती भोग्दै आएका छन् ।
प्रदेश अस्पतालको गेटदेखि सशस्त्र प्रहरी बलको चण्डिका गणसम्मको करिब ५०० मिटर सडक जीर्ण बनेको दशक नाघिसकेको छ । सडकमा ठूला-ठूला खाल्डा परेकाले पैदलयात्री र सवारीसाधन जोखिम मोलेर आवतजावत गर्न बाध्य छन् । "अस्पताल जस्तो संवेदनशील ठाउँमा पुग्ने सडकको यस्तो अवस्था हुँदा पनि कसैले वास्ता गरेनन्," स्थानीय थमनारायण पौडेलले गुनासो गरे ।
यो सडक दैनिक ३०० भन्दा बढी बिरामी आउने प्रदेश अस्पताल मात्र नभई जिल्लाका दर्जनौं महत्वपूर्ण सरकारी कार्यालयहरू जाने मुख्य मार्ग हो । पूर्वाधार विकास कार्यालय, जिल्ला अदालत, मालपोत, नापी, शिक्षा, कृषि ज्ञान केन्द्र, हुलाक लगायतका कार्यालय जाने बाटोको दुर्दशाले सेवाग्राही र कर्मचारी सबैलाई हैरानी भएको छ ।

अस्पताल व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष शङ्कर गिरीले एक वर्षअघि नागरिकको हस्ताक्षरसहित सघन सहरी तथा भवन निर्माण आयोजना, बागलुङमा डेलिगेसन गए पनि कुनै सुनुवाइ नभएको बताए । धुलो र हिलोले स्थानीय व्यवसायी पनि आजित छन् । "सवारीसाधनले उछिट्याउने ढुङ्गाले पसलमा क्षति पुग्ने गरेको छ," स्थानीय रमेश श्रेष्ठले भने ।
यता, कुश्मा नगरपालिका–५ का वडाध्यक्ष रामहरि शर्माले वडाको सानो बजेटले यो सडक निर्माण गर्न असम्भव रहेको बताए । उनका अनुसार पूर्वाधार विकास कार्यालयलाई पटक-पटक लिखित तथा मौखिक आग्रह गर्दा पनि बेवास्ता गरियो ।
यस विषयमा पूर्वाधार विकास कार्यालय, पर्वतले भने यो आर्थिक वर्षमा बजेट नभएकाले सडक मर्मत गर्न नसकिने जनाएको छ । कार्यालय प्रमुख सन्तोष अर्यालले आगामी आर्थिक वर्षको बजेटमा पार्नका लागि योजना प्रस्ताव गरिएको जानकारी दिए ।