काठमाडौँ, जेठ २६ ।
संघीय संसद्, राष्ट्रियसभाको बैठक आज (सोमबार) बस्दै छ । बैठक दिउँसो सवा १ बजेका लागि बोलाइएको हो । आजको बैठकमा विभिन्न महत्त्वपूर्ण विधेयकहरूमाथि छलफल र निर्णय गर्ने कार्यसूची रहेको छ ।
संसद् सचिवालयका अनुसार, बैठकको सुरुमा राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालले “जलस्रोत विधेयक, २०८१” का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश सभासमक्ष टेबुल गर्नेछन् ।
त्यस्तै, उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त “भन्सार विधेयक, २०८०” माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित “पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१” माथि छलफलका लागि प्रस्ताव प्रस्तुत गर्नेछन् । उक्त छलफलपछि सोही विधेयकलाई पारित गरियोस् भन्ने प्रस्ताव पनि आजै प्रस्तुत गरिने कार्यसूचीमा उल्लेख छ ।