काठमाडौँ, जेठ २०।
सार्वजनिक खरिद अनुगमन कार्यालयले दुई विदेशी र एक नेपाली गरी तीनवटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ। कार्यालयले सार्वजनिक खरिद ऐन अनुसार ती कम्पनीहरूलाई कालोसूचीमा राख्ने निर्णय सोमबार गरेको जनाएको छ।
कालोसूचीमा पर्ने कम्पनीहरूमा जापानको मरुशिन शिताका कन्स्ट्रक्सन, भारतको पीएच-एसएमएनएस जेभी र नेपालको शंकरमाली निर्माण सेवा रहेका छन्।
कार्यालयका अनुसार जापानको मरुशिन शिताका कन्स्ट्रक्सन र भारतको पीएच-एसएमएनएस जेभीलाई दुई-दुई वर्षका लागि कालोसूचीमा राखिएको छ। त्यसैगरी, नेपालको शंकरमाली निर्माण सेवालाई एक वर्षका लागि कालोसूचीमा राखिएको छ।
कालोसूचीमा परेका यी कम्पनीहरूले अब तोकिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन्।