काठमाडौँ,जेठ २५।
कैलालीको लम्की चुँहा नगरपालिकामा अटोरिक्सा पल्टिँदा १० महिनाका एक बालकको ज्यान गएको छ भने दुई जना घाइते भएका छन्। शनिबार भएको यस दुःखद दुर्घटनामा हजुरबुवाले चलाएको अटोमा सवार नातिको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार, लम्कीचुहा नगरपालिका-१ भुरुवाको भित्री सडकमा भरत साउँदले चलाइरहेको सुदूरपश्चिम प्रदेश ०१-००१ ह ५१४८ नम्बरको अटो अनियन्त्रित भई पल्टिएको थियो। दुर्घटनामा चालक साउँदकै १० महिने नाति आयुष साउँद गम्भीर घाइते भएका थिए।
घाइते बालकलाई उपचारका लागि टीकापुर अस्पताल पुर्याइए पनि चिकित्सकले साँझ ४:३० बजे मृत घोषणा गरेका थिए। दुर्घटनामा अटोमा सवार ४२ वर्षीय प्रकाश गिरी र १३ वर्षीय टेकराज साउँद पनि घाइते भएका छन्। उनीहरूको लम्कीस्थित लालरत्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटनालगत्तै चालक तथा मृतक बालकका हजुरबुवा भरत साउँद फरार भएका छन्। प्रहरीले अटोलाई नियन्त्रणमा लिएर फरार चालकको खोजी कार्य जारी राखेको छ।