काठमाडौँ,जेठ २५।
काठमाडौँको बौद्धमा गएराति टिपरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। काठमाडौँ महानगरपालिका-६, रामहिटीस्थित सडकखण्डमा भएको उक्त दुर्घटनामा करिब ७० वर्षीय वृद्धको ज्यान गएको हो।
जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रवक्ता एसपी अपिलराज बोहराका अनुसार, शनिबार राति करिब साढे ११ बजे बागमती प्रदेश ०१-००६ ख ५५०८ नम्बरको टिपरले बाटो काटिरहेका वृद्धलाई ठक्कर दिएको थियो।
टिपरको ठक्करबाट गम्भीर घाइते भएका उनलाई तत्काल उपचारका लागि अत्तरखेलस्थित नेपाल मेडिकल कलेज लगिएको थियो। तर, अस्पताल पुर्याइएको केही समयमै राति १२:०५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
एसपी बोहराले मृतकको पहिचान खुल्न नसकेको र शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा राखिएको जानकारी दिए। प्रहरीले ठक्कर दिने टिपरका चालकलाई भने काभ्रेबाट पक्राउ गरिसकेको छ।