काठमाडौँ, जेठ २६ ।
पाल्पाको रम्भा गाउँपालिकाको लेकमा बहुमूल्य जडीबुटी यार्सागुम्बा भेटिएको छ । राष्ट्रिय विधि विज्ञान प्रयोगशाला, खुमलटारले उक्त जडीबुटी यार्सा नै भएको पुष्टि गरेपछि जिल्लावासी उत्साहित भएका छन् ।
गत साता रम्भा गाउँपालिका–२ फोक्सिङकोट र वडा नं ३ रिमिघा लेकमा सुन्तलाको बिरुवा रोप्न खाल्डो खन्ने क्रममा स्थानीयले यार्सागुम्बा जस्तै देखिने वस्तु फेला पारेका थिए । डिभिजन वन कार्यालय, पाल्पाले परीक्षणका लागि पठाउँदा उक्त वस्तु यार्सा नै भएको प्रमाणित भएको हो ।
समुद्री सतहबाट करिब १,८०० मिटरको उचाइमा यार्सा भेटिनुलाई दुर्लभ मानिएको छ, किनकि यो सामान्यतया ३,५०० मिटरभन्दा माथिको उचाइमा मात्र पाइन्छ ।
यार्सा भेटिएको पुष्टि भएपछि जिल्ला सुरक्षा समिति र गाउँपालिकाले उक्त क्षेत्रमा सर्वसाधारणको आवतजावतमा रोक लगाएको छ । प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले भेटिएको यार्साको प्रजाति र औषधीय गुणबारे थप अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।