काठमाडौँ,जेठ २६।
तारकेश्वर नगरपालिकाले पत्रकारहरुसंगको अन्तक्रिया कार्यक्रम ५ लाख खर्च गर्दै छ । ३५ करोड रुपैयाँभन्दा बढीको घाटा बजेटमा चलिरहेको तारकेश्वर नगरपालिकाले आफ्नै सुविधासम्पन्न सभाहल हुँदाहुँदै पत्रकारसँगको अन्तरक्रिया कार्यक्रमका लागि निजी होटलमा ५ लाख रुपैयाँ खर्च गर्न लागेको छ। यो कदमलाई स्थानीयहरूले जनताको करको ठाडो दुरुपयोग भनेका छन्।
तारकेश्वर नगरपालिकाले जेठ २६ गते तारकेश्वर-३ स्थित मोनालिसा होटलमा "नगरप्रमुखसँग सञ्चारकर्मी अन्तरक्रिया तथा अभिमुखीकरण" कार्यक्रम आयोजना गर्दैछ। दिनभर चल्ने उक्त कार्यक्रममा सहभागी पत्रकारहरूका लागि चिया, नास्ता, खाना र खाजासहितको भव्य व्यवस्था गरिएको छ।
आश्चर्यको कुरा, नगरपालिकाले हालै करिब १७ करोडको लागतमा ६ रोपनी क्षेत्रफलमा फैलिएको आफ्नै प्रशासनिक भवन निर्माण सम्पन्न गरेको छ। सोही भवनमा करिब ३०० जना अट्ने पूर्ण सुविधायुक्त सभाहल छ। तर, उक्त सभाहल प्रयोग नगरी निजी होटलमा लाखौं खर्च गरेर कार्यक्रम आयोजना गर्नुले नगरपालिकाको आर्थिक अनुशासनमाथि गम्भीर प्रश्न उठेको छ।
एकातिर नगरपालिकाले लक्ष्यअनुसार राजस्व उठाउन सकेको छैन र ठूलो बजेट घाटा बेहोरिरहेको छ, अर्कोतिर यस्ता फजुल खर्चमा रकम छुट्याइएको छ। पत्रकारहरू सामान्य निमन्त्रणामा पनि अन्तरक्रियाका लागि उपस्थित हुने अवस्था हुँदाहुँदै भव्य भोजभतेर आयोजना गर्नुलाई नगरप्रमुखले आफ्ना निकट सञ्चारकर्मीलाई खुसी पार्ने प्रयासका रूपमा हेरिएको स्थानीयको आरोप छ।