काठमाडौँ ।
आईसीसी महिला टी–ट्वेन्टी विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत सुपर थ्रीमा नेपाल र यूएईको खेल जारी छ ।
थाइल्यान्डमा जारी छनोटमा नेपाल ग्लोबल छनोटमा पुग्नबाट मात्रै एक जीत टाढा छ ।
ट्रेड थाइ क्रिकेट मैदान बैँककमा टस जितेर नेपालले फिल्डिङ रोजेको छ ।
यदि, नेपालले आजको खेलमा यूएईलाई हराउन सके नेपाल विश्वकपको ग्लोबल छनोटमा पुग्नेछ ।
एसिया क्षेत्र छनोटमा थाइल्यान्ड, यूएई र नेपाल आआफ्नो समूहको विजेता बनेर सुपर थ्रीमा पुगेका टिम हुन् ।
शीर्ष तीनबीच भइरहेको खेलअन्तर्गत आज भएको यूएई र थाइल्यान्डबीचको खेलमा यूएई ५४ रनले पराजित भयो ।
यसअघि भएको एसिया छनोटमा नेपाल र यूएईबीचको खेल वर्षाले प्रभावित बनेको थियो ।
त्यसपछि नेपाल एसिया छनोटबाट बाहिरिँदा यूएई ग्लोबल छनोटमा पुगेको थियो ।
नेपालको विश्वकप पुग्ने बाटोमा यूएई बाधक बन्दै आइरहेको छ ।
अहिले भने नेपालसामु यूएईलाई नै हराएर विश्वकपमा पुग्ने अवसर आएको हो ।
नेपाल र यूएईबीच भएका पछिल्ला पाँच खेलमध्ये दुई खेल नेपालले जितेको थियो भने एक खेल यूएईले जितेको थियो ।
एउटा खेलमा नतिजा निस्कन सकेन भने अर्को एक खेल रद्द भएको थियो ।