नरसंहारपश्चात स्थानीय बासिन्दा र घोडा चालकहरूले घाइते पर्यटकहरूको उद्धारमा उल्लेखनीय साहस देखाए। उनीहरूले दुर्गम र खतरनाक जंगलबाट घाइतेहरूलाई घोडा र काँधमा बोकेर पहलगाम र श्रीनगरस्थित अस्पतालहरूमा पु-याउने काममा ठूलो भूमिका खेले। यसैबीच, आसपासका गुरुद्वाराहरूले पनि मानवीयता प्रस्तुत गर्दै पर्यटकहरूलाई सुरक्षित आश्रय, खाना र प्राथमिक उपचार प्रदान गरे, जसले धार्मिक सहिष्णुता र सहकार्यको सशक्त सन्देश दियो।
भारत सरकारले आक्रमणपछि व्यापक रूपमा खोजी अभियान सुरु गर्यो। सुरक्षा बलहरू, विशेष गरी राष्ट्रिय अनुसन्धान एजेन्सी (NIA), सेनाको विशेष टुकडी, र स्थानीय प्रहरीको समन्वयमा चलाइएको अभियानमा १५०० भन्दा बढी व्यक्तिहरूलाई पक्राउ गरिएको जनाइएको छ। साथै, आतंकवादमा संलग्न रहेको शंका गरिएका व्यक्तिहरूका घरहरू भत्काउने, सम्पत्ति जफत गर्ने, र मोबाइल नेटवर्कहरू निगरानीमा राख्नेजस्ता कठोर कदमहरू चालियो।
तर यस कडा सुरक्षा कारबाहीको भित्र केही विवादास्पद पक्षहरू पनि देखा परे। विभिन्न मानव अधिकार समूहहरूले विरोध जनाउँदै, यस अभियानमा धेरै निर्दोष स्थानीयहरूलाई पनि अनावश्यक रूपमा लक्षित गरिएको, बिना प्रमाण गिरफ्तारी गरिएका, र सम्पत्तिहरू नष्ट गरिएको आरोप लगाए। विशेष गरी मुस्लिम समुदायका सामान्य नागरिकहरूमा त्रास र असुरक्षा फैलिएको भन्दै मानव अधिकारवादीहरूले भारत सरकारलाई संयमित र प्रमाणाधारित कारबाही गर्न आग्रह गरेका छन्।
यस घटनाले आतंकवाद, सुरक्षा, धार्मिक सद्भाव, मानव अधिकार र कानुनी प्रक्रिया सन्तुलनमा कसरी गम्भीर चुनौती खडा हुन्छ भन्ने कुरा स्पष्ट रूपमा देखाएको छ।